काठमाडौं, १ पुस - सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलनलगायत वैकल्पिक रणनीति तयार गर्न मधेसी मोर्चाका नेताहरूलाई सुझाव दिएका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पूर्वमन्त्री केशवमान शाक्यको निवास बबरमहलमा बिहीबार अपराह्न मधेसी मोर्चाका नेतासँग गरेको तीन घन्टा लामो परामर्शमा भट्टराईले उनीहरूलाई आन्दोलनका लागि प्रेरित गरेका हुन् ।
भट्टराईसँगको छलफलमा मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबाट शनिबारसम्म संशोधन प्रस्ताव पारित गराउने सार्वजनिक प्रतिबद्धता माग गर्ने बताएका थिए ।
दाहाल–देउवाबाट आफूहरूले माग गरेअनुसारको प्रतिबद्धता शनिबारसम्म नआए आइतबार विज्ञप्ति जारी गरी प्रस्तावित स्थानीय निकाय निर्वाचन बिथोल्नेसहितको आन्दोलन घोषणा गर्ने रणनीतिमा मोर्चा पुगेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए ।
नयाँ शक्ति नेपालका संयोजक भट्टराईले मधेसी मोर्चालाई संविधानको मूल धारमा ल्याउने उद्देश्यसहित संशोधन विधेयक दर्ता गरेका दाहालले एकाएक पुरानो संरचनाअनुसार स्थानीय निर्वाचनमा जाने रणनीति बनाउँदा आफू अत्यन्त दुखित बनेको बताएका थिए ।