
काठमाडौं — अमेरिकामा इन्टिरियर सेक्रेटरी र्यान जिन्केले यसै वर्षको अन्त्यसम्ममा पदत्याग गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएका छन् । ट्रम्प प्रशासनबाट बिदा हुने उनी पछिल्ला वरिष्ठ अधिकारी हुन् ।
एउटा ट्वीट लेख्दै ट्रम्पले जिन्केलाई उनको सेवाका लागि धन्यवाद दिए र उनले आफ्नो कार्यकालमा धेरै उपलब्धि हासिल गरेको बताए ।
यसै साता नयाँ इन्टिरियर सेक्रेटरी नियुक्त गर्ने पनि ट्रम्पले बताए ।
जिन्के पूर्व नेभी सील कमान्डो तथा मोन्टाना राज्यबाट पूर्व सांसद हुन् । उनले थुप्रै किसिमका नैतिक उल्लंघन गरेको आरोप लागेको छ ।
मोन्टानामा जिन्के र हालिबर्टन तेल सेवाका अध्यक्षले जमीन सम्झौतामा घोटाला गरेको आरोप लागेको भनी पोलिटिको पत्रिकाले लेख्यो ।
इन्टिरियर डिपार्टमेन्टले संघीय जग्गाजमीनहरूको पर्यवेक्षण गर्ने गर्छ । योसेमाइट र येल्लोस्टोन जस्ता राष्ट्रिय निकुञ्ज पनि उसकै क्षेत्राधिकारमा पर्छ ।
जिन्केले अमेरिकी निकुञ्ज प्रहरीको हेलिकप्टर र प्राइभेट जेटमा महंगा भ्रमण गरेको आरोप छ ।
उनले आफ्नो मन्त्रालयमा महंगो मर्मत र नवीकरण गरेकोमा पनि आलोचना भएको थियो । उनको कार्यालयमा तीनथरी ढोकालाई एक लाख ३९ हजार डलर खर्च गरेर अप्ग्रेड गरेको समाचार प्रकाशित भएका थिए । पछि उनले ७५
हजार डलरमा यो काम गराएको स्पष्ट पारे ।
जिन्केले तेल निकाल्ने र कोइला खन्ने कामलाई प्रवर्द्धन गर्ने गरेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएका वातावरणीय संरक्षण नीतिलाई पल्टाउन उनले काम गरेका थिए ।
सिनेटका वरिष्ठतम डेमोक्रेट चक शुमरले जिन्केको कठोर आलोचना गरेका छन् ।
‘यो हिले क्याबिनेट उनी विना अलि कम घिनलाग्दो हुनेछ,’ उनले ट्वीट गरे ।
बीबीसीबाट