१९ असार २०८३, शुक्रबार

प्रधानसेनापति थापा बुटवलको जितगढी किल्लामा

पुस ४, २०७५
प्रधानसेनापति थापा बुटवलको जितगढी किल्लामा

बुटवल – प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको बुधवार अवलोकन गरेका छन् । 

बुटवल उपमहानगरपालिकाले जितगढीमा विशेष गुरूयोजना बनाएर काम अगाडि बढाइरहेका बेलामा सेनापति सहितको विशेष टोलीले त्यसको जानकारी लिँदै अवलोकन गरेको हो ।

त्यसक्रममा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक बनाउन लागेको लगायतका एकीकृत पर्यटन विकासबारे जानकारी गराए ।

उनले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र तत्कालीन अवस्थाको युद्धकला झल्किने संग्रहालयका लागि पनि सहयोग गर्न सेनापतिसमक्ष आग्रह गरे ।

सेनापतिले बुटवल उपमहानगरपालिकाले अगाडि सारेको अभियानको सराहना गर्दै त्यसलाई पूरा गर्ने काममा आफूहरूले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

जितगढीको विकासका लागि मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढी, पाल्पाको तानसेनक्षेत्र, स्यूराज, अर्घाखाँचीस्थित पृथ्वीनारायण शाहको मावली लगायतका क्षेत्रलाई जोडेर इतिहास जीवित राख्ने क्षेत्रका रुपमा विकास गरिने प्रधानसेनापतिको भनाइ थियो ।

सेनापतिले नेपाल एकीकरणपूर्व र पश्चात्का विभिन्न किल्लाहरू, सामरिक महत्त्वका क्षेत्र, गढीलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको पनि जानकारी दिए ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिकस्थल जितगढीको महत्त्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाइको तामाको पूर्णकदको शालिक र ९ फिट उचाइकै झण्डा बनाएर राख्न थालेको छ ।

बुटवलले जितगढीलाई राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको भन्दै सबैको सहकार्यको खाँचो रहेको बताए ।

विक्रम सम्वत् १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।

जितगढीको सामरिक महत्त्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना रहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्