२६ जेठ २०८३, मंगलबार

नेकपा स्थायी कमिटी बैठक– मन्त्रीहरू 'नालायक' भएको भन्दै फिर्ता बोलाउन माग

पुस ४, २०७५
नेकपा स्थायी कमिटी बैठक– मन्त्रीहरू 'नालायक' भएको भन्दै फिर्ता बोलाउन माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले वर्तमान मन्त्रिपरिषद् असफल भएकोले तत्काल सरकार पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीे बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता पन्तले मन्त्रिपरिषदले जनताको चाहना अनुरुप काम गर्न नसकेकाले पुनर्गठन गर्नुपर्ने बताएका हुन् । 

स्थायी कमिटीको बैठकपछि लोकान्तरसँग कुरा गर्दै पन्तले सरकार लोकप्रिय र गतिशील नभएको आरोप लगाए । उनले सरकारकार केही मन्त्रीले नालायकी पन देखाएको आरोप लगाए । ‘सरकारले निरन्तर विवादित काम मात्र गरिरहेको छ, जनतासमक्ष गरेका वाचाहरू पूरा गर्न सरकार पूर्णतः असफल रहेको छ’ पन्तले भने,‘यस्तो अवस्थामा हामीले टुलुटुलु हेरेर बस्न मिल्दैन । मन्त्रीहरूको कामको समीक्षा गरेर कसलाई फिर्ता बोलाउने हो भन्ने निर्णय तुरुन्त गर्नुपर्ने आवश्यकता छ’ । 

पार्टीको राजनीतिक र सांगठनिक निर्णय स्थायी कमिटी र केन्द्रीय कमिटीेले नै गर्नुपर्ने नेता पन्तको जिकिर छ । तर सचिवालयले अनावश्यक हस्तक्षेप गर्दै निर्णय गर्ने गरेको उनको आरोप छ ।

आफूखुसी निर्णय गरेर सचिवालय निरङ्कुश बन्दै गइरहेको पन्तले बताए । ‘सचिवालयले आफ्नो क्षेत्राधिकार बिर्सेर मनलाग्दी निर्णय गर्ने चलन हट्नुपर्छ’, पन्त भन्छन्, ‘सचिवालयका सदस्यहरूले नेकपालाई राणा शैलीमा चलाउने दुष्प्रयास गरेका छन्, राणाहरूले जस्तो नेता कार्यकर्ताहरूलाई ‘ए क्लास’, ‘बि क्लास’ र ‘सी क्लास’मा बाड्ने र आफ्ना आसेपासे, नजिकका भाइभारदारलाई मात्र पदमा लैजाने गरेको देखिएको छ, यो तुरुन्त अन्त्य हुनुपर्छ ।’

मंसिर २९ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ । अधिकांश सदस्यहरूले पार्टी नेतृत्व र सरकारको आलोचना गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्