
काठमाडौं- अभिनेता दयाहाङ राईले एक वर्षअघि सञ्चार माध्यममाझ भनेका थिए –‘अब म छानेर मात्र चलचित्र अभिनय गर्छु ।’ आफू अभिनित चलचित्रले गतिलो व्यापार गर्न छाडेपछि दयाले यसो भनेका थिए ।
तर अहिले दयाहाङको एकपछि अर्को चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘साइँली’, ‘आप्पा’, ‘दयारानी’, निरफूल, ‘जात्रैजात्रा’ गरी उनका पाँच चलचित्र प्रदर्शनको तयारीमा छन् । चारवटा चलचित्रको त छायांकन नै बाँकी छ ।
मंगलवार राजधानीमा आयोजित चलचित्र ‘दयारानी’को फष्टलूक पोष्टर सार्वजनिक कार्यक्रममा दयालाई प्रश्न गरियो, ‘तपाईं त धेरै चलचित्र गर्दिनँ भन्नुभएको होइन ? किन यति धेरै चलचित्र आउँदैछन् ?’
दया आफूले पहिले नै बचन दिएका कारण आफूसँग अहिले पनि धेरै चलचित्र शेड्यूलमा रहेको प्रतिक्रिया दिए । ‘मैले नयाँ आउने चलचित्र रोक्छु भनेको हो,’ उनले भने, –‘तर एक वर्षभन्दा अगाडि नै मैले धेरै चलचित्रमा काम गर्छु भनेर बचन दिएको थिएँ ।’ उनले अहिले भने आफूले कुनै पनि नयाँ चलचित्रको लागि साइन नगरेको स्पष्ट पारे ।