
काठमाडौं –सरकारी स्वामित्वमा रहेको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको सेवाको गुणस्तर झनझन खस्किँदै गइरहेको छ । टेलिकमको नेटवर्क रहेका मोबाइलबाट एकअर्कामा सम्पर्क गर्न खोज्दा समयमै फोन नलाग्ने, फोन लागेपनि स्पष्ट आवाज नसुनिने र छिनछिनमै फोन काटिने समस्या व्यापक हुन थालेको उपभोक्ताको गुनासो छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना सरकारको लापरवाहीका कारण सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको गुणस्तर खस्किँदै गइरहेको र आम उपभोक्ताले सास्ती बेहोर्नु परेको गुनासो गर्छन् ।
नेपाल टेलिकममा सरकारले महाप्रबन्धक नियुक्त गर्न ढिलाई गरेको नेतृत्व नै नहुँदा कर्मचारीले मनपरी गरिरहेका उनको बुझाई थियो । ‘नेपाल टेलिकममा काम गर्ने कर्मचारीहरू एनसेलमा पार्टटाइम जागिर गर्ने र एनसेलबाट कमिसन खाने कुरा तपाईं हामीले सुन्दै आएको कुरा हो,’ उनले भने, टेलिकमको गुणस्तर सुधारका निम्ति नेपाल दूरसञ्चार प्राधिकरण र मन्त्रीस्तरबाटै प्रयास हुनु पर्दछ ।’
टेलिकममा काम गर्ने कर्मचारीले एनसेलबाट कमिसन खाने कुरा कतिको सत्य हो ? भन्ने प्रश्न गर्दै उनले सरकारले यसको वास्तविकता पत्ता लगाउन छानबिन गर्नुपर्ने बताए ।
सरकारले टेलिकमले दिने सेवाको बारेमा अध्ययन गर्नुपर्ने र कर्मचारीका बारेमा आवश्यक छानबिन गरेर उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने तिमिल्सिनाको माग छ ।
नेपाल टेलिकमले भने पछिल्लो समय सेवामा सुधार हुँदै गइरहेको बताएको छ । टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले पछिल्लो समय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययन प्रतिवेदन अनुसार पनि टेलिकमको सेवामा सुधार आइरहेको देखिएको दाबी गरिन् ।
उनले ग्राहकवर्गले प्रयोग गर्ने मोबाइल सेटको आधारमा पनि फोन काटिने, समयमै फोन नलाग्ने जस्ता समस्या आउन सक्ने भन्दै कुन स्थानमा त्यस्तो समस्या आएको हो, त्यसको जानकारी टेलिकममा गराउन समेत अनुरोध गरिन् ।
‘मोबाइल सेटहरू धेरै किसिमका आए बजारमा,’ उनले भन्नि, ‘मोबाइल सेटका कारण पनि त्यस्ता समस्या आउन थालेका छन् र त्यस्ता समस्या कुन स्थानमा आएका हुन्, हामीलाई जानकारी गराउनु पर्यो ।’