२२ जेठ २०८३, शुक्रबार

दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यताबाट छुटकारा पाउँदै एक विद्यालय

दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यताबाट छुटकारा पाउँदै एक विद्यालय

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–७ स्थित पनौती आधारभूत विद्यालयमा नयाँ भवन बन्ने भएपछि शिक्षक र विद्यार्थी दिउँसै बत्ती बालेर पठनपाठन गर्नुुपर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन् । 

पाठशालाको नामबाट चर्चित उक्त विद्यालयको स्थापना १९७२ सालमा भएको थियो । शताब्दी पुरानो सो विद्यालयले आन्तरिक पर्यटकको समेत ध्यान आकर्षित गरेको छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र रहेको छ । यो ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै पवर्छ । यहाँ पुग्ने जोकोहीले पनि विद्यालयको अवलोकन गर्ने गरेका छन् । सो विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पठनपाठन गरिँदै आएको छ । 

नयाँ भवन निर्माणपछि पठनपाठनमा निकै सहजता आउने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षाकोठा निकै साँघुरा छन्, कष्टकररुपमा विद्यार्थीलाई पढाइरहेका छौँ ।” विद्यार्थी सङ्ख्या अत्यधिक भए पनि भौतिक पूर्वाधारको अभावमा २०४५ सालमा निर्मित पुरानै भवनमा पढाउन बाध्य भएको उहाँको भनाइ छ । 

नगरपालिकासँग समन्वय गरी भवन निर्माणका लागि बजेटको माग गरेको ताम्राकारले बताउनुभयो । पनौतीको इतिहास बोकेको सो विद्यालयलाई नमूना बनाउन पनौती नगरपालिकाले समेत सहयोग गर्ने नगर प्रमुख भीम न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यालयलाई सहयोग गर्न नगरपालिका सधैँ तयार छ ।” 

पिस इन्टरनेशल ट्राभल एण्ड टुर्सको रु तीन करोड तीस लाखको सहयोगमा उक्त विद्यालयको भवन निर्माण भइरहेको छ । मङ्सिर २८ गते सो भवनको शिलान्यास गरिएको हो । विद्यालयको जीर्ण पूर्वाधार देखेर सहयोग गरेको पिस इन्टरनेशनलका सर्वोत्तम श्रेष्ठले बताउनुभयो । “नगरपालिकालगायतको सहयोगले काम गर्न हौसला मिलेको छ” उहाँले भन्नुभयो । भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा भौतिक पूर्वाधारको मात्र अभाव छैन, विद्यार्थीका लागि खेल्ने ठाउँको समेत अभाव छ । विद्यार्थी सडकमा खेल्न बाध्य छन् । हाल विद्यालयमा २४१ विद्यार्थी अध्ययनरत छन् । 

–मीना घोरसाइने 

salt training

कमेन्ट गर्नुहोस्