
सप्तरी, २३ फागुन — नेकपा एमालेको मेची–महाकाली अभियान बिथोल्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध राजनीतिक दलका कार्यकर्ता सप्तरी सदरमुकाम राजविराजमा बिहानैदेखि प्रदर्शन गरेका छन् ।
दिउँसो २ बजे गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने एमालेको सभा बिथोल्न मोर्चाका कार्यकर्ता बिहानैदेखि लट्ठी र भाटासहित जुलुस प्रदर्शन गरिरहेका छन् । अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले राजविराजमा बाक्लो सुरक्षा तैनाथी गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयप्रसाद तिमल्सिनाले दुवै पक्षलाई शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको बताए । ‘मोर्चाका कार्यकर्ता बिहानैदेखि सडकमा उत्रेका छन्, दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छौं,’ उनले लोकान्तरसँग भने ।
मोर्चाका कार्यकर्ताको विरोधका बाबजुद सभाको तयारी पूरा भएको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा शुक्रवार भएको बैठकमा मोर्चाले एमालेको कार्यक्रम नबिथोल्ने प्रतिबद्धता जनाएको थियो ।
‘मोर्चालाई संविधानले दिएको अधिकार प्रयोग गर्दै कालो झण्डा प्रदर्शन र मुर्दावाद भन तर कार्यक्रम नबिथोल भनेका छौं,’ मण्डलले भने, ‘अन्य दलको कार्यक्रम बिथोल्ने कुरा अधिनायकवादी चरित्र हो ।’
सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गरेर एमालेको मेची–महाकाली अभियानको टोली दिउँसो १ बजे सप्तरी प्रस्थान गर्ने स्थायी सदस्य मण्डलले लोकान्तरलाई बताए ।
सभालाई एमाले अध्यक्ष केपी ओलीलगायत दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । मोर्चाका केन्द्रीय स्तरका नेताहरूले एमालेको कार्यक्रम बिथोल्न निर्देशन नदिइएको दाबी गरेका छन् ।
- तस्वीरः शिवप्रताप