
काठमाडौं –नेपाली कांग्रेसमा एक व्यक्तिले एकपटक मात्र आरक्षणको सुविधा लिन पाउने गरी विधान संशोधन प्रस्तावमा जिल्ला सभापतिहरूले संशोधन हाल्ने तयारी गरेका छन् ।
महासमिति बैठकमा विधान संशोधन प्रतिवेदन पेश भएपछि जिल्ला सभापतिहरूले सामूहिक रूपमा फरक प्रस्ताव दर्ता गर्न लागेका हुन् । गत महिना नुवाकोटमा सम्पन्न जिल्ला सभापतिहरूको भेलाले पारित गरेको प्रस्तावलाई विधानमा समेट्न जिल्ला सभापतिहरूले लबिङ गरिरहेका छन् ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी, जुम्लाका सभापति हंशबहादुर बम लगायतले विधान संशोधनमा पूरक प्रस्ताव लैजाने तयारी गरेका छन् ।
स्थानीय तहदेखि संघीय संसद्सम्म संसदीय बोर्ड गठन गर्ने प्रस्ताव समेत लैजाने तयारी भएको कास्कीका सभापति केसीले लोकान्तरलाई जानकारी दिए । पदाधिकारीहरू समावेशी हुनुपर्ने प्रस्ताव उनीहरूले महासमिति बैठकमा लैजाने तयारी गरेका छन् ।
पदाधिकारीले टुंगायो विवाद, बस्न सकेन केन्द्रीय समिति
लामो समयको रस्साकस्सीपछि कांग्रेस पदाधिकारी बैठकले १३ जना पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने व्यवस्था सहितको विधान संशोधन प्रस्तावमा सहमति जुटाएको छ । शुक्रवार बिहान बसेको पदाधिकारी बैठकले सहमति जुटाएको हो । सभापति, दुई उपाध्यक्ष र महामन्त्री तथा ७ सहमहामन्त्री निर्वाचित गर्ने गरी विधान संशोधनमा सहमति जुटेको हो ।
केन्द्रीय समितिले अनुमोदन गरेपछि प्रस्ताव महासमिति बैठकमा पेश गरिने छ । विधान संशोधनमा सहमति जुट्न नसक्दा मंगलवार नै सम्पन्न हुने भनिएको महासमिति बैठक लम्बिएको छ । विधान संशोधन र पार्टीको भावी रणनीति तय गर्न कांग्रेस महासमिति बैठक मंसिर २९ गते शुरू भएको थियो ।