
काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आएका जनजाति प्रतिनिधिहरुले पार्टीको विधानमा हिन्दूराष्ट्र राखिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा सहभागी जनजाति नेताहरुले हिन्दूराष्ट्रको पक्षमा कांग्रेसले निर्णय गरे पार्टी ठूलो दुर्घटनामा पर्ने बताएका हुन् ।
नेपाली कांग्रेस निकटको आदिवासी जनताजी संघका महासचिव एवं उदयपुरबाट महासमिति बैठकमा प्रतिनिधि रहेका प्रशान्त कुमार राईले हिन्दूराष्ट्र बारे विधानमा व्यवस्था गर्न उठेको मागप्रति आपत्ति जनाएका हुन् ।
‘पार्टीमा जबरजस्ती उठाउन खोजिएको हिन्दूराष्ट्रको मागमा समग्र आदिवासिहरुको घोर आपत्ति छ’ राईले भने ।
बैठकमा बोल्ने हिन्दूराष्ट्र पक्षधर प्रतिनिधिले ९४ प्रतिशत नेपाली हिन्दू भनेर तथ्यांक प्रस्तुत गरिरहेकोमा जनजाति प्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।
‘जनजाती मात्र ३५ प्रतिशत छन् भने कसरी हिन्दूहरु ९४ प्रतिशतको संख्यामा भए ?’ राईले प्रश्न गरे ।
महासमिति बैठकमा हिन्दूइतरका प्रतिनिधिलाई बोल्न अवसर नदिएको आदिवासि प्रतिनिधिहरुको आरोप छ ।
‘हिन्दूराष्ट्रको पक्षमा बोल्ने साथीहरुलाई महासमिति बैठकमा बोल्नको लागि समय दिइएको छ तर हामीलाई छैन,’ राईले भने,‘हिन्दूराष्ट्र कांग्रेसको विधानमा राख्न हुँदैन भन्ने साथीहरुलाई बोल्नको लागि समय माग्दा पनि उपलव्ध गराइएको छैन, पार्टीले हामीलाई उपेक्षा गर्न खोजेको छ ।’
उनले विधानमा हिन्दूराष्ट्रको माग गर्नेहरुले भने जस्तो भए कांग्रेस विभाजनको संघारमा पुग्ने चेतावनी दिए ।
गत आइतबारबाट शुरु भएको महासमिति बैठकस्थल योगम्बर पार्टी प्यालेसमा हिन्दूराष्ट्र पक्षधर महाधिवेशन प्रतिनिहरुले पार्टीको विधानमा हिन्दूराष्ट्रको व्यवस्था गर्न माग गर्दै हस्ताक्षर संकल गरेका थिए । जसको नेतृत्व शंकर भण्डारी लगायतले गरेका थिए ।
हिन्दूराष्ट्रको पक्षमा करिब ८०० प्रतिनिधिले हस्ताक्षर गरेको भन्दै विधानमा हिन्दूराष्ट्रको व्यवस्था गर्न माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई संकलित हस्ताक्षर बुझाइएको थियो ।
तर, हिन्दूराष्ट्रको पक्षमा शीर्ष नेतृत्वले महासमिति बैठकमा केही बोलेको छैन ।
यसअघि देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने भाषण गर्दै आएका महामन्त्री शशांक कोइरालाले पनि महासमितिको उद्घाटन सत्रमा यसबारे केही बोलेनन् ।
महासमिति बैठकमा हिन्दूराष्ट्र बारे निष्कर्ष निस्कने अनुमान गरिएको थियो ।
यो पनि पढ्नुहोस्