
काठमाडौ– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस पूर्णिमालाई धान्यपूर्णिमा पनि भनिन्छ ।
आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।
प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ । किरात समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् ।
वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।
प्रगतिपथमा अग्रसर हुन प्रेरणा होस्ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृतिपूजक किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उधौली पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाल साझा फूलबारीका रुपमा सिँंगारिएको तथा नेपालीले मनाउने उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका बताउनुभएको छ ।
उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशलाई प्रगतिपथमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।
‘प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस्’
उपराष्ट्रपति नन्दबहादुर पुनले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उक्त अवसरमा आज शुभकामना दिँदै उहाँले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिभएको उल्लेख गर्नुभएको छ । योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
योमरी पुन्हिलाई राज्यले पनि उच्च महत्व दिँदै चौध वर्षअघि ज्यापु दिवसको घोषणा गरेको हो । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातिका विविध संस्कृतिले नेपालीलाई एकताको सूत्रमा बाँधेको सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ज्यापु संस्कृति विकास कोषले नेपालका मौलिक चाडपर्व र जात्रा मनाउँदै वेषभूषा, बाजागाजा, रीतिरिवाजलगायत सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनका काम गरेकामा प्रशंसा गर्नुभएको छ ।
‘राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा प्रदान गर्ने’
सभामुख कृष्णबहादुर महराले किरात समुदायको महान पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त किरात समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उधौली पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समुदायले मिलेर बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हो । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ । यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।” सभामुख महराले उधौली पर्वले सामाजिक, साँस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।