
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेकाे छ । शुक्रबारसम्म ४१ जना सदस्यले धारणा राखेका छन् भने आज बाँकी सदस्यले धारणा राखेसँगै बोल्नेक्रम सकिनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी रहेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा गत शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्नेक्रम सकिएसँगै पार्टी अध्यक्षद्वयले सदस्यहरूले उठाएका जिज्ञासाको सम्बोधन गर्ने नेकपा कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । सदस्यले धारणा राखेर सकिएपछि सम्भवतः आइतबार नभए सोमबार बस्ने बैठकमा अध्यक्षद्वयले जवाफसहितको धारणा राख्नेछन् ।
बैठकमा धारणा राख्ने सदस्यले सरकारका राम्रा कामको प्रचार नभएको बताएका छन् भने केही सदस्यले नेतृत्वको आलोचना पनि गरेका छन् । सरकार र पार्टी सञ्चालन गर्ने क्रममा नेतृत्वबाट थुप्रै कमजोरी भएको टिप्पणी भएको छ ।