
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको काम कारवाही र पार्टीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । पार्टीसँग समन्वय नगर्दा सरकरामाथि चौतर्फी आक्रमण भएको उनीहरुको जिकीर छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा जारी स्थायी समितिको शनिवारको बैठकमा बोल्दै नेता नेपालले सरकारले पार्टीसँग समन्वय नगर्दा दुई तिहाइ बहुमतको सरकारले पनि केही काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले पार्टी एकीकरणको विधिमा केही त्रुटि रहेको बताए ।
उनले प्रदेश कमिटि गठनप्रति असन्तुष्टि जनाएका थिए । अर्का नेता खनालले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा क्रान्तिको चरणबारे उल्लेख धारणा नमिलेको बताएका थिए ।
पार्टी एकीकरणको काम पूरा नहुँदा कार्यकर्तामा अन्यौलता सिर्जना भएको तथा सरकारले गरेका केही नियुक्तिका कारण जनतामा निराशा छाएको बताएका थिए ।
शनिवार गिरिराजमणी पोखरेल, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, झलनाथ खनाल र माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए । भोलि बिहान ८ बजे बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
जेठ ३ मा दुई पार्टी एकीकरण भएपछि तेस्रो पटक स्थायी समितिको बैठक बसेको हो ।