२७ असार २०८३, शनिबार

राजपामा बढ्यो विवाद : अध्यक्ष मण्डलले गर्‍यो राजेन्द्र महतो पक्षधरलाई कारवाही

पुस ७, २०७५
राजपामा बढ्यो विवाद : अध्यक्ष मण्डलले गर्‍यो राजेन्द्र महतो पक्षधरलाई कारवाही

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको धनुषा जिल्ला अध्यक्ष मण्डलको बैठकले जिल्ला स्तरीय नेता सञ्जय चौधरीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेर केन्द्रीय अध्यक्ष मण्डललाई सिफारिस गरेको छ ।

राजपा धनुषाको अध्यक्ष मण्डलको शनिवार बसेको बैठकबाट कारवाही सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष मण्डलले पत्रकार सम्मेलन नै गरेर निर्णय सार्वजनिक गरेको हो ।

राजपा २ नम्बर प्रदेश सभाका प्रमुख सचेतक परमेश्वर साहलाई हुँदै नभएको घटनालाई सञ्चारमाध्यममा आफूले कुटपिट गरेको तथा धक्कामुक्का गरेको भनेर भ्रामक तथा कपोकल्पित समाचार सम्प्रेषण गराएर पार्टीको अनुशासन विपरीत काम गरेकाले चौधरीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरिएको बैठकको अध्यक्षता गरेका देवकृष्ण मण्डलले बताए ।

मण्डल शरतसिंह भण्डारीले नेतृत्व गरेको पूर्वराष्ट्रिय मधेश समाजवादी पार्टीको धनुषा अध्यक्ष थिए । हाल जिल्ला अध्यक्ष मण्डलका सदस्य छन् । प्रमुख सचेतक परमेश्वर साह महन्थ ठाकुरले नेतृत्व गरेको पूर्वतमलोपाका धनुषा अध्यक्ष पनि भएका कारण अध्यक्ष मण्डल सदस्यको हैसियतले साह आफैं बैठकमा सहभागी थिए ।

‘सञ्जय चौधरीको व्यवहारले आफ्नो मानमर्दन भएको छ । सुनियोजित तरिकाले मेरो चरित्र हत्या गर्ने काम गरेकाले उनलाई कारबाही गर्ने निर्णय गरेका छौं,’ साहले भने, ‘पार्टीको केन्द्रीय अध्यक्ष मण्डलले उनलाई कारबाही गरेन भने भोलि पार्टीमा झन् अराजकता बढ्दै जाने र भोलि पार्टीको अवस्था के हुने भन्नेबारे पनि केन्द्रीय अध्यक्ष मण्डलले विचार गर्नुपर्ने हुन्छ ।’ कारवाही सिफारिसमा परेका चौधरी केन्द्रीय अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो निकट नेता मानिन्छन् ।

बैठकमा धनुषा अध्यक्ष मण्डलका अन्य सदस्य विरेन्द्रकुमार यादव र सतिशकुमार लाल दास उपस्थित थिए भने अध्यक्ष मण्डलका संयोजक प्रमोदकुमार यादव अनुपस्थित थिए । यादवकी आमाको निधन भएका कारण उनी बैठकमा अनुपस्थित भएपनि बैठकको निर्णयमा यादवको पनि सहमति रहेको साहले बताए ।

तर बैठकमा राजेन्द्र महतो पक्षका पूर्वसद्भावनाका अध्यक्ष सञ्जय सिंह भने उपस्थित थिएनन् । उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा लिइएको छ । साहले भने, ‘हामीले सञ्जय जीलाई बैठकमा आउन पटक–पटक अनुरोध गरेका छौं । तर उहाँ बैठकमा आउन चाहनुभएन ।’

कारवाही सिफारिस गरिएका चौधरी राजेन्द्र महतो पक्षधर जिल्ला स्तरीय नेता हुन् । विगतमा उनी विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा थिए । गच्छदारको पार्टी परित्याग गर्दै सद्भावनामा प्रवेश गरेका थिए । राजेन्द्र महतो धनुषामा निर्वाचन लड्दा चौधरी महतोको निकट भएका थिए । महतोलाई चुनाव जिताउन उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

केन्द्रमा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुनु अघिसम्म उनी राजपामा केन्द्रीय सदस्य थिए ।

salt training

कमेन्ट गर्नुहोस्