१० साउन २०८३, आइतबार

मदन भण्डारी र गणेशमान सिंह एउटै आन्दोलनमा ! क्रान्तिको दृश्यले दर्शक भावुक

मदन भण्डारी र गणेशमान सिंह एउटै आन्दोलनमा ! क्रान्तिको दृश्यले दर्शक भावुक

विराटनगर – विगत केही दिनदेखि झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा लाग्दैछ । कोही भाषण गर्दै गरेका अनि कोही आफ्ना भाषणमा क्रान्ति र राजसंस्था ढाल्ने कुरा गर्दैगर्दा कतै गोली चल्छ कतै भागदौड मच्चिन्छ ।

क्रान्तिका एक पात्र हुन् बर्बरिक । बर्बरिकको समर्थनमा सबै एक ठाउँमा उभिन्छन् । हरेक सुखदुःखमा साथ दिनेदेखि राजनीति क्रान्ति सफल गर्ने अभियानमा सहयोग गर्ने गरी भएको आम नागरिकको सहयोगले बर्बरिक शक्तिशाली नेताको रुपमा चिनिन्छन् । यो झोराहाट नाट्य केन्द्रमा चलेको नाटक बर्बरिकको दृश्य हो ।

नाटक बर्बरिक हेर्न जानेको भीड छ । नाटकमा बिरामी गणेशमान सिंहलाई अस्पतालबाट आन्दोलनको नेतृत्वकर्ताको रुपमा उभ्याइएको छ भने मदन भण्डारीलाई बर्बरिकको रुपमा आन्दोलनको नेतृत्व गर्ने व्यक्तिको रुपमा देखाइएको छ । कुनै दिन बर्बरिक आफ्नै घरमा भएको बेला चारैतिर आन्दोलन उत्कर्षमा पुगेको त्यो क्षणमा प्रहरी उनकै घरमा आइपुग्छ । 

ढोका ढक्ढक्को आवाजले अप्ठ्यारोमा परेका उनलाई एउटी बच्चा जन्माउने महिलाको रुपमा नाटकमा देखाइएको क्षणमा दर्शकले हाँसो थाम्न सकेनन् ।  प्रहरी घरभित्र प्रवेश गर्दा बर्बरिकलाई महिलाको कपडा लगाएर बच्चा पाउन लागेको अवस्थामा उभ्याइएको छ । 

त्यो दृश्यको एकैछिनमा राजा विरेन्द्रको भूमिका पनि बर्बरिक नाटकमा देख्न सकिन्छ । राजा विरेन्द्रको भूमिकामा देखिएका कलाकारले त्यो बेलाको आन्दोलनका कुरालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेका छन् ।

आन्दोलनको विषय जनतासँग जोडिएकाले राजा विरेन्द्रलाई सकारात्मक रुपमा उभ्याइएको छ भने रानीलाई जनताको विरोधीको रुपमा नाटकले चित्रण गर्न खोजेको छ । ताप्लेजुङदेखि विराटनगर अनि विराटनगर हुँदै सिरहा र काठमाडौंको दृश्यलाई नाटकमा देखाइएको छ ।

नेकपाका नेता प्रदिप नेपालले लेखेको उपन्यास बर्बरिकको नाट्य रुपान्तरण झोहाराट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईले १ बर्ष अघि नै गरेका हुन् ।  लेखकसँगको अनुमति लिएर नाटकलाई ढाँचा दिएको बताएका गुरागाईले झोहाराटमा सफल भएको नाटकलाई अबको १५ दिनपछि काठमाडौंमा पनि देखाउन लागिएको बताए ।

गुरागाईले भने, ‘इतिहासको खोजी जुन रहश्यको रुपमा  रहेको छ, त्यो बाहिर ल्याउने उद्देश्य नाटकले बोकेको  छ ।’

कलाकारका उस्तै हुलिया

जिन्दावाद र मुर्दावादको नाराबाट शुरू हुने नाटक बर्बरिकमा विभिन्न कलाकारको हुलिया नाटकमा देखाइने पात्रसँग मिलाउन खोजिएका छन् । नाट्य रुपान्तरण गरेका भरत गुरागाईले बर्बरिक अर्थात् मदन भण्डारीको भूमिका निभाएका छन् भने राजा विरेन्द्रको भूमिकामा हुबहु प्रस्तुत भएका छन् कलाकार प्रयाग न्यौपाने । 

दिपा पोखरेललाई दिइएको विद्या भण्डारीको भूमिका उनले  दर्शकलाई मोहित पार्ने गरी निभाएकी छिन् । नाटकमा सुदिप कार्कीलाई एउटा लेखक पत्रकारको रुपमा उभ्याइएको छ । उनको भूमिका नाटक अवधिभर लेखनको माध्यमबाट भित्रि कुरा बाहिर ल्याउने र आन्दोलनलाई सघाउने खालको देखिन्छ । 

अर्को पात्रमा डिबी बस्नेत देखिएका छन् । उनको भूमिका जर्नेलको रहेको छ । दिव्यालाई चिया पसलकी साहुनीको रुपमा देख्न पाइन्छ भने दिक्षा चौधरीलाई रानीको रुपमा देखाइएको छ । बर्बरिकको बरगाछीको एउटा घरमा देखाइन्छ, त्यो घरमा अनु श्रेष्ठलाई देखाइन्छ । उनको त्यहाँ लेखक पत्रकारको काकीको भूमिका निभाउन लगाइएको छ ।  

नाटकको अन्त्य वियोगान्त

नाटकमा राजासँगको भेटपछि चुपचाप बाहिरिएका बर्बरिक कहाँ जान्छन् कसैले थाहै पाउँदैनन् । आन्दोलन र जनताको पक्षमा कडा देखिएका बर्बरिकलाई विभिन्न समयमा विभिन्न नामले बोलाएको पाइन्छ ।

राजा विरेन्द्र सकारात्मक देखिएपनि रानीको भूमिकालाई पनि नाटकमा देखाइएको छ । जहाँ रानीको भूमिका बर्बरिकलाई सिध्याउने खालको देखिन्छ । उनलाई जर्नेलले सहयोग गरेका छन् । जब जर्नेलले बर्बरिकलाई सिध्याइदिने अभिव्यक्ति दिन्छन्, अनि नाटक शोेकमा बदलिन्छ ।

एकाएक शव डङ्रङ्ग ढलेको बेला सबै स्तब्ध हुन्छन् । सबैले पाएको एउटा अभिभावक गुमाएको महसुस गर्छन् । कसरी बर्बरिकको मृत्यु हुन्छ ? त्यो कसैले पत्तोसम्म पाउँदैनन् । उनको शवलाई उठाइरहँदा दर्शकका आँखाबाट आँशु खसेका देखिन्छ । नाटकमा देखिइएको एउटा कथा दर्शकलाई रुवाउँदै अन्त्य हुन्छ । 

मदनको ४० देखि ५० सालको झल्को

यसरी नाटक हेरेका जो कोहीले नाटकलाई जीवन्त बनाउने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । नाटकमा २०४० देखि ५० सालको बिचमा भएका घटनाक्रमलाई देखाइएकाले नाटकमा मदनका गतिविधिलाई देखाउन खोज्नु अत्यन्त राम्रो भएको बताएका छन् ।

नाटक हेरेपछि प्रतिक्रिया दिँदै दिनेश श्रेष्ठले भने, ‘नाटक धेरै राम्रो रहेको छ, नाटकले एउटा इतिहास बोकेको छ ।’ नाटक हेर्न भोजपुरबाट आएका मणि प्रधान र तनहुँबाट आएका राम श्रेष्ठले नाटकले मदन भण्डारीको जीवन भोगाइ मात्र हैन, एउटा कालखण्डको अवस्थालाई जस्ताको त्यस्तै देखाएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्