
लमजुङ– जंगलमा आगलागी हेर्न शनिबार बिहान हिँडेका सशस्त्र प्रहरी ३२ नम्बर गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै अचानक रोकिए । उनले देखे– मस्र्याङ्दी नदी पारिपट्टिको ठाडो खोलाको झरनाबाट बग्ने पानी जमेको ।
मस्र्याङदी किनारसम्म आँखा डुलाए, त्यहाँ पनि पानी जमेकै थियो । उनीसँगै अन्य प्रहरले समेत बग्दाबग्दै जमेको छहरा र पानीलाई नजिकबाट नियाले । ‘बग्दाबग्दैको पानी जमेको पहिलो पटक देखें,’ उनले भने, ‘भरिएको पानी, बाटोको पानी तथा शीत भोलिपल्ट जमेको त देखेकै हो । झर्दाझर्दैको पानी जमेको देखेर अनौठो लाग्यो ।’
अत्यधिक चिसोले जमेको पानी बिहान १० बजेसम्म पनि पग्लिएको थिएन । ‘भित्रभित्रै अलिअलि बगिरहेको थियो, बाहिरबाट हेर्दा सबै जमेको । अचम्म लागेपछि मैले फोटो पनि लिएँ,’ उनले भने । पानीकै वेगले बनेको पोखरीमा समेत जमेको थियो । ‘मान्छे डुब्ने पोखरीमा जुत्ताचप्पल लगाएर हिँड्न र उभिन सकिने थियो,’ उनले भने । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।