३० असार २०८३, मंगलबार

छात्राहरूलाई दुना टपरी बनाउने सीप प्रदान

छात्राहरूलाई दुना टपरी बनाउने सीप प्रदान

दमौली– विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई सालको पातबाट बनाइने दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले सीप प्रदान गरेको छ । विद्यालयमा कक्षा ६ देखि १० सम्मका अध्ययनरत छात्रालाई विद्यालयले सालको पातबाट दुना, टपरी बनाउने सीप प्रदान गरेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताउनुभयो । 

पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्रालाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको बस्नेतले जानकारी दिनुभयो । प्रअ बस्नेतले कक्षा ६ देखि १० सम्म अध्ययनरत १५० जना छात्रालाई जीवनपयोगी सीप प्रदान गरिएको बताउनुभयो । ‘‘नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरूलाई सालको पातबाट दुना, टपरी बनाउन सिकाएका हौँ,’’ उहाँले भन्नुभयो, “यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

विद्यालयमा अध्यापन गराउने १० शिक्षिका र विद्यालयका चार अभिभावकबाट छात्रालाई सीप प्रदान गरिएको हो । विद्यालयस्तरबाटै सीप सिकाउँदा छात्राहरूलाई पछि व्यावहारिक रुपमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । कक्षा १० मा अध्ययनरत सुस्मिता चौधरीले पहिलो पटक सालको पातबाट दुना, टपरी बनाउने सीप सिक्न पाएकामा खुशी व्यक्त गर्नुभयो । “विद्यालयमा सिकिएको यो सीपले घरायसी र व्यवहारिक जीवनमा उपयोगी हुने ठानेकी छु”, उहाँले भन्नुभयो । 

नेपाली मौलिक कला र परम्पराअनुसार सालको पातबाट निर्माण गरिने टपरी, दुना, धागो र कपासबाट बत्ती कात्ने जीवन उपयोगी सीप छात्राहरूलाई सिकाइएको थियो । पछिल्लो समय कागज तथा आल्मुनियमका प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्