२९ असार २०८३, सोमबार

सोमालियामा शनिवार भएको आक्रमणमा पत्रकारसहित १६ जनाको मृत्यु

सोमालियामा शनिवार भएको आक्रमणमा पत्रकारसहित १६ जनाको मृत्यु

काठमाडौं — सोमालियाको राजधानी मोगादिशुमा शनिवार भएको बम विस्फोटमा १६ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी मानिस घाइते भएका छन् ।

अल कायदा आतंकवादी संगठनसँग सम्पर्क रहेको अल शबाब समूहले आक्रमणको जिम्मेवारी लिएको छ । 

दुई बम विस्फोट भएकोमा पहिलो बम नेसनल थिएटरनिर पड्केको थियो जसले गर्दा आकाशमा सेतो धूवाँको मुस्लो उडेको थियो । 

त्यसको केही मिनेटमा त्यहीँनजिक दोस्रो विस्फोट भएको थियो । 

मारिनेमा सैनिकहरूका साथै युनिभर्सल टीभी स्टेसनमा काम गर्ने तीनजना पत्रकार पनि रहेको प्रहरी कप्तान मोहम्मद हुसेनले बताए । शीर्ष पत्रकार आविल दाहिर सालाद मर्नेहरूमध्ये एक रहेको उनको भनाइ छ । 

अर्का एक प्रहरी अधिकारीले पहिलो बम राष्ट्रपति निवासभन्दा ४०० मिटर पर रहेको एक चेकपोइन्टमा भएको बताए । 

विस्फोट भएको स्थाननजिक राजनीतिकर्मी तथा अन्य अधिकारीहरू यात्रा गरिरहेको प्रहरीको भनाइ छ । 

अल शबाबले सोमालिया र छिमेकी मुलुकहरूमा कैयौं आक्रमण गराइसकेको छ । उसले सोमालियाको सरकारलाई सत्ताच्युत गरेर कठोर इस्लामिक कानून लागू गर्न चाहिरहेको छ । 

यो समूहले देशका अनेकौं भागमा पहिले कब्जा गरेको भए पनि सन् २०१० देखि लडाकूहरू प्रमुख नगर र शहरबाट लखेटिएका छन् । 

अमेरिकी सेनाले सोमाली बल र अफ्रिकन युनियन पीसकीपिङ मिसनसँग मिलेर अल शबाबविरुद्ध हवाई आक्रमण गरिरहेको छ । यस वर्ष मात्र अमेरिकाले कम्तीमा ४७ वटा हवाई आक्रमण गरेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्