काठमाडौं, २३ फागुन– नेकपा एमालेले जारी मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले साँझ एक विज्ञप्ती जारी गर्दै अभियान भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको बेला राजविराजमा भएको घटनाबाट पार्टी दुःखी भएको बताएका छन् ।
विज्ञप्तिमा पार्टीले विगतदेखि नै मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र संविधानलाई नै असफल पार्ने षड्यन्त्र हुँदै गरेको बताउँदै आएको र आजको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र बिध्वांसात्मक गतिविधिलाई नै पुष्टि गरेको उल्लेख गरिएको छ ।
यस्तै स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै पार्टीले फागुन २४, २५ र २६ गते तीन दिनका लागि अभियानका कार्यक्रम स्थगित गरेको पनि एमालेले विज्ञप्तिमार्फत जनाएको छ ।