
बुटवल – नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रले चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ ।
गएका आर्थिक वर्षमा झण्डै १३ प्रतिशतमा रहेको चुहावटलाई चालू आवमा झण्डै चार प्रतिशतमा झारिएको केन्द्रले जनाएको छ ।
चुहावट नियन्त्रण अन्तर्गत ३ हजार ३८ जना ग्राहक कारवाहीमा पनि परेका छन् । चालू आवमा भएको कारवाहीबाट झण्डै डेढ करोड रुपैयाँ जरिवाना समेत संकलन भएको छ । वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार हुकिङ, डिमाण्ड चुहावट र मिटर चुहावट नियन्त्रणबाट ग्राहक कारवाहीका परेका हुन् ।
सबैभन्दा धेरै डिमाण्ड चुहावट गर्नेहरू भेटिएको केन्द्रले जनाएको छ । डिमाण्ड चुहावट गर्नेको संख्या ३ हजार ३५ जना रहेको र तिनीहरूबाट मात्रै १ करोड ३९ लाख ७० हजार राजस्व संकलन भएको केन्द्रका आय शाखा प्रमुख खिमराज आचार्यले बताए ।
अहिले केन्द्रले चुहावट नियन्त्रणसँगै ग्राहक वर्गीकरण सुधार अभियानलाई पनि प्रभावकारी बनाएको उनको भनाइ छ । जुन प्रयोजनका लागि भनेर विद्युत् मिटर जडान गरिएको हो । त्यहीँ प्रयोजनमा प्रयोग नगर्ने उपभोक्तालाई ग्राहक वर्गीकरण सुधार अभियान अन्तर्गत कारवाहीको दायरामा ल्याइएको केन्द्र प्रमुख मिश्रको भनाइ छ ।
चालू आवमा यस्तो गर्ने ५० जना उपभोक्ता कारवाहीमा परेका छन् । उनीहरूले मासिक १० लाख रुपैयाँसम्म राजस्व छली गरिरहेको प्राधिकरणले जनाएको छ । सुधार अभियान अन्तर्गत कारवाही गर्दा ती ५० जनाबाट २३ लाख २ हजार ७ सय ३६ रुपैयाँ राजस्वसमेत संकलन भएको छ ।
प्राधिकरणले व्यापारिक, गैरव्यापारिक, ग्राहस्थ, गैरग्राहस्थ, औद्योगिक, खानेपानी, सिँचाइ, मनोरञ्जन, मठमन्दिर (धार्मिक स्थल) गरी १३ वटा वर्गमा ग्राहकलाई निर्धारण गरेर विद्युत् उपलब्ध गराएको छ । हालसम्म यी सबै वर्गमा गरी ५९ हजार ५ सय ९१ ग्राहक रहेको प्राधिकरणको बुटवल वितरण केन्द्रका प्रमुख मिश्रले जानकारी दिए ।
उनले विद्युत् महशुल संकलन विनियमाली २०७३ अनुरुप बुटवल केन्द्रले अहिले ग्राहक वर्गीकरण सुधार अभियानलाई प्रभावकारी बनाइएको बताए । बक्यौतामा ताकेता गर्नेदेखि महशुल नतिर्नेको लाइन काट्नेसम्मको अभियानलाई प्रभावकारी बनाइएको र महसुल संकलन पनि वृद्धि हुँदै गइरहेको उनको भनाइ छ ।
चालू आवमा ५ सय १७ जनाको लाइन काटिएको छ । त्यस्ता ग्राहकबाट १ करोड १४ लाख ५७ हजार ८ सय ६१ रुपैयाँ असुल भएको विगतका वर्षमा १ वर्षमा संकलन हुने रकमभन्दा धेरै चालू आवको यो अवधिमा संकलन भइसकेको छ । यो अवधिमा ६३ करोड ९२ लाख १६ हजार ३ सय २० रुपैयाँ संकलन भइसकेको लेखा प्रमुख मदन पौडेलले बताए ।
सबैको सहकार्य चाहिन्छ : प्रमुख मिश्र
सम्बन्धित निकाय र समुदायका अगुवाले साथ दिने हो भने विद्युत् चुहावट न्यूनिकरण सम्भव छ । बुटवल वितरण केन्द्रको हकमा सबैको सहकार्यमा यस्तो अभियानलाई प्रभावकारी बनाउन सकिएको छ ।
ट्रान्सफर्मरमा उपयुक्त क्षमताको क्यापासीटर बैंक जडान गर्नेदेखि नियमित निगरानी गर्नेसम्मका कामलाई अगाडि बढाइएको छ । विद्यत् माग बढिरहेसँगै व्यवस्थापनका काममा पनि उत्तिकै ध्यान दिएका छौं ।
कतिपय स्थानमा अहिले पनि समस्या छन् । तर समाधानको उपयुक्त विकल्प खोज्ने काम भइरहेको छ । विद्युत् र ट्रान्सफरमर स्वयंको कार्य क्षमतामा अभिवृद्धि हुने गरी अभियान चलाउने हाम्रो पनि तयारी छ । वितरण ट्रान्सफर्मरमा इलेक्ट्रिोनिक मिटर जडान गर्नेदेखि विपन्न वर्गका उपभोक्तालाई निःशुल्क मिटर जडान गर्नेसम्मका काम पनि भएका छन् ।