
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको दोषी पत्ता लगाउने काममा सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
दोषी पत्ता लगाउने नाममा बाटोमा हिँड्दै गरेका निर्दोष व्यक्तिलाई यातना दिएर कसुर स्वीकार्न बाध्य पारिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । यस्ता घटनाले अन्तराष्ट्रिय जगतमा नेपालको छवी बिग्रने कांग्रेको टिप्पणी छ ।
प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई कारवाही गर्नुको साटो निर्दोष व्यक्तिलाई कसुर स्वीकार्न यातना दिइएको भन्दै आपत्ति जनाएकी हुन् । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले यातना दिएर कसुर स्वीकार्न लगाएको थियो ।
‘मानवअधिकार दिवस मनाउने क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीले निर्मलाका दोषी पक्रिसकेका छौ, केही दिनमा सार्वजनिक गर्छौं, यसलाई राजनीतिक छाता नओडाइयोस् भन्नु भएको थियो’ भुसालले भनिन्, ‘अन्यायमा परेका निर्मलाका आमा र वुवालाई न्यायको छाता ओडाउन चाहान्छौ । हामी रावल र चौधरीलाई न्यायको छाता ओडाउन चाहन्छौ ।’
कांग्रेस सचेतक भुसालले भनिन्– ‘हिजोको दिनमा बम दिदी बहिनी पक्राउ गरौं भन्दा प्रधानमन्त्रीको मन दुखेको सुन्योै, देखिजाने साक्षीलाई कारवाही गरोस् होइन भने प्रतिपक्ष चुप लागेर बस्दैनौ ।’