०७ साउन २०८३, बिहीबार

च्याउ किसान कमलको कमाल : प्रतिस्पर्धा गर्दैछन् भारत र चीनसँग !

पुस १४, २०७५
च्याउ किसान कमलको कमाल : प्रतिस्पर्धा गर्दैछन् भारत र चीनसँग !

धनगढी – हिन्दी फिल्म ‘थ्री इडियट्स’का प्रमुख पात्र हुन् फुनसुङ वाङडू अर्थात् अमिर खान । उनी विश्वविद्यालय सर्टिफिकेटको लागि नभई ज्ञान हासिलको लागि मात्रै गए । 

अन्ततः सफलता उनैले हासिल गरे । शास्त्रहरु अनेकौं हुन्छन् । तर तीमध्ये आफूलाई सफल बनाउन रुचीकर ज्ञान मात्रै हासिल गर्नुपर्छ भन्ने मुख्य सन्देश प्रवाह गर्ने उनै फिल्म पात्र फुनसुङ वाङडूको भूमिकासँग मेल खान्छ, कैलालीका एक किसानको सफलताको गथा ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँका ३७ वर्षीय कमल घर्तिमगर कक्षा ७ सम्मको मात्रै औपचारिक शिक्षा हासिल गरेका छन् । तर उनी भारतका ३ वटा प्रख्यात कृषि विश्वविद्यालयबाट चाहिने प्राविधिक ज्ञान हासिल गरेका छन् । फलतः उनी च्याउ उत्पादन तथा प्रशोधनमा चम्किँदै गएका छन् । आफ्नो प्रतिस्पर्धा भारत र चीनसँग मात्रै रहेको उनको दाबी छ ।

सामान्य परिवारमा जन्मेका कमलले पारिवारिक जिम्मेवारी सानै उमेरदेखि सम्हाले । कक्षा ७ सम्मको अध्ययन मात्रै गरी घरधन्दामै तल्लीन भए । केही न केही इलम गर्नुपर्छ भन्ने सोच बनाउन थाले । स्कूल पढ्दाताका गुरु एवं धनगढी बंगरा कटानका स्थानीय कालीचरण चौधरीले कृषि क्षेत्रमा अथाह सम्भावना छ भनेर दिएको वचन स्मरण गर्न थाले ।

कमल आफ्नो व्यवसायको सुरुवाती अवस्थालाई स्मरण गर्दै भने, ‘कृषि कर्ममा लाग्नुको प्रेरणाको स्रोत कालीचरण चौधरी सर नै हो । पढाई त छोडी सकेको थिए । तर स्कूलमा पढाइ हुने कृषि सम्बन्धी पूर्व व्यावसायिक शिक्षादेखि अन्य किताबहरू खोजी–खोजी पढ्न थाले । त्यही नै मेरो जीवनको प्रारम्भिक तालिम थियो ।’

गाउँमै केही गर्नुपर्छ भन्ने दृढ संकल्प गरेका कमलसँग व्यावसायिक लगानीको कुनै आयस्रोत भने थिएन । २०५७ तिर उनले एक जना आफन्तसँग तरकारीको बिउ खरिद गर्न १५० रुपैयाँ सापटी मागेका थिए । १ कट्ठामा विभिन्न तरकारी रोपे । तरकारी राम्ररी फल्यो । बजार पनि पाए । त्यही तरकारीबाट उनले ५ हजार रुपैया कमाएको सुनाउँछन् ।

‘मेरो व्यावसायिक जीवनको शुरूवाती लगानी भन्नु नै डेढ सय रुपैयाँ हो । त्यसपछि लगानी बढाउँदै गए,’ उनी अगाडि थप्छन् । तरकारी र केरामा हात हालेको उनी पछि च्याउ खेतीप्रति आकर्षित भए । २०६३ सालमा क्षेत्रीय कृषि तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरबाट च्याउ खेती सम्बन्धी तालिम लिए । २०६५ देखि व्यावसायिक च्याउ खेती गर्न थाले । क्रमिक रुपमा तरकारी र केरा खेती भने खुम्च्याउँदै लगे, च्याउ बढाउँदै गए ।

कन्ये अर्थात् पराले च्याउमा केही सफलता मिलेपनि गोब्रे च्याउमा भने घाटा व्यहोर्न थाले । लिएको तालिम फलदायी नभएको महसुुस गरे । उनले भने, ‘तालिम अनुसार गर्दा समेत असफल भएपछि काठमाडौंसहित मुलुककै विभिन्न ठूला कृषि फर्म, तालिम केन्द्र पनि चहारे तर सन्तुष्टिजनक प्रविधि तथा ज्ञान पाउन सकेन । धेरै परेशानी सहे ।’

३ विश्वविद्यालयको यात्रा

मुलुकमा पाएको ज्ञान सीपबाट हात धुनु परेपछि उनी एक जना साथीले सुझाए अनुसार २०७० सालमा भारतको उत्तराखण्डस्थित गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिकी विश्वविद्यालय चहार्न पुगे । भारतमा हरित क्रान्तिको अग्रदुत मानिने सो विश्वविद्यालयबाट प्रवाह हुने कृषि सम्बन्धी प्रविधिको नजिकबाटै नियाल्न थाले । 

‘विश्वविद्यालयको विद्यार्थी समेत नभएको मलाई पहिले–पहिले त साह्रै अप्ठ्यारो हुन्थ्यो । फकिरझैं लाग्थ्यो । विना भर्ना विश्वविद्यालयमा छिरेको मलाई कसैले मुर्ख पो भन्ने हो कि ? भन्ने पनि लाग्थ्यो । तर ‘जो होगा देखा जाइगा’ भनेर प्रवेश गरे,’ उनले पन्तनगर विश्वविद्यालय बसाइको अनुभव सुनाए, ‘पछि विश्वविद्यालयका निर्देशकसँग भेट्ने मौका पाए । शुरूवाती चरणमा होटलमै बसेपनि पछि भने विश्वविद्यालयकै अतिथि गृहमै बस्ने वातावरण मिल्यो । केही समय त्यही बसे । अन्तर्राष्ट्रिय स्तरको तालिम र गोष्ठीमा समेत बस्ने मौका पाए ।’

भारतको कृषि प्राविधिबारे नजिकबाट नियाल्न थालेका उनले नेपालको कृषि प्रविधि र भारतमा दिइने कृषि प्रविधिको ज्ञानमा ठीक उल्टो रहेको बताउँछन् । गोब्रे च्याउ उत्पादनमा किन फेल खाएको भन्ने कुराको जवाफ त्यहाँबाट नै पाए उनको भनाई छ ।

‘यहाँ सिकाइने प्रविधि र भारतमा सिकाइने प्रविधिमा ठीक उल्टो छ । त्यहाँ (पन्तनगर) मा गोब्रे च्याउको लागि बनाइने कम्पोस्ट मल, माटो राख्ने विधि र यहाँ (नेपालमा) सिकाइने प्रविधि ठीक उल्टो पाए । फर्केर आएपछि गोब्रे च्याउ पनि सप्रियो,’ मुस्कुराउँदै उनले अगाडि थपे ।

विश्वविद्यालयबाट कृषि ज्ञानको तिर्खा नमेटेपछि उनी २०७१ सालमा भारतीय कृषि अनुसन्धान केन्द्र दिल्ली पुगे । त्यसपछि अझै विज्ञता हासिल गर्न भनेर उनी हरियाणास्थित सोनीपथ च्याउ अनुसन्धान केन्द्र पुगे । 

‘प्राविधिक ज्ञान सिकेपछि म किसानकै फर्म अवलोकन गर्न चाहान्थे । पछि हरियाणा सोनीपथ मुसरुम अनुसन्धान केन्द्रकै सहयोगमा सोनीपथ खेउदाका स्थानीय कमल चौहानले संयौं विघा क्षेत्रफलमा गरेको व्यावसायिक च्याउ खेतीको अवलोकन गर्ने मौका पाए । संयोग नै मान्नुपर्छ, २ कमलको भेट भएपछि कमल चौहानले मलाई सिकाउने कुरामा कुनै कन्जुस्याइँ गरेनन् । अझै पनि केही अप्ठ्यारो परेको अवस्थाबाहेक वर्षमा १–२ पटक त्यहाँ पुगेकै हुन्छु,’ भारत बसाइको अनुभव उनले सुनाए । 

मुलुककै नमूना च्याउ उद्योग

२०७१ सालमा २० लाखको लगानीमा कमलले जुगेडामै ओम केदार च्याउ तथा तरकारी फर्म सञ्चालनमा ल्याए । लगानी बढाउँदै उनले २०७३ सालमा एसियाली विकास बैंकको सहयोग रहेको साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजना (रिज्म एफपी) र आफ्नो गरी १ करोड ८ लाख पुर्याए । यति मात्रै होइन, आफ्नो लगानीलाई थप बढाएको बताउने उनी हालसम्मको लगानी २ करोड २० लाख पुगेको बताउँछन् ।

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो रहेको च्याउ फर्मको हालै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । विभिन्न आधुनिक प्रविधिसहित व्यवसाय थालेका उनी गोब्रे च्याउको क्यानिङ अर्थात् प्याकेजिङ गरी २ वर्षसम्म खान सकिने प्रविधिको विकास र च्याउको पाउडर निर्माण मुलुकमै पहिलो पटक भइरहेको दाबी गरे ।

‘नेपालमा हालसम्म भारत र चीनबाट क्यानिङ गरिएको ग्रोबे च्याउ आयात हुँदै आएको छ । हालसम्म हाम्रो यहाँ बाहेक मुलुकको अन्य ठाउँमा च्याउको क्यानिङ र पाउडर बनाउने प्रविधि छैन । जुन कारणले हाम्रो प्रतिस्पर्धा भारत र चाइनासँग मात्रै हो,’ उनी भन्छन् ।

उद्योगको प्रतिघण्टा साढे २ क्वीन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्वीन्टल गोब्रे च्याउ क्यानिङ गर्न सक्ने क्षमता रहेको बताइएको छ । २ विघा क्षेत्रफलमा फैलिएको उद्योगले चालू वर्ष ५० टन च्याउ उत्पादन तथा प्रशोधन गर्ने लक्ष्य लिएको छ ।

गत वर्ष २० टल उत्पादन भएको बताइएको छ । फर्मका व्यवस्थापक राजु पुनमगरले चालू वर्ष १० हजार बलबाट कन्ये च्याउ र १ सय १० टन कम्पोस्ट मलबाट गोब्रे गरी जम्मा ५० टन च्याउ उत्पादन गर्ने लक्ष्य लिएको जनाए ।

च्याउको बजार पनि अति नै राम्रो रहेको बताइएको छ । पछिल्लो समय च्याउ मानव स्वास्थ्यको लागि लाभदायिक रहेको चेतना सर्वसाधारणमा समेत जाग्दै जान थालेपछि बजार पनि बढ्दै गएको कमल बताउँछन् । उत्पादित च्याउ धनगढी, अत्तरिया, पुर्नवास, बैतडी, डडेल्धुरा, नेपालगञ्ज लगायत ठाउँमा समेत आपूर्ति हुँदै आएको जनाइएको छ ।

रोजगारीको सिर्जना

कमलसँगै उनकी पत्नी गौरीदेवी घर्तिमगर पनि क्रियाशील छिन् । फर्ममा ५ जना तलबी कर्मचारी र ४५ जना ज्यालादारी कामदारले समेत दैनिक रुपमा रोजगारी पाएका छन् । हात पाखुरा चलाए स्वदेशमै सुनखानी रहेको कमल बताउँछन् ।

देशको माटोलाई माया गर्नेले कहिल्यै पनि भोको पेट बस्नु नपर्ने बताउँदै उनले किसानका लागि सरकारले पनि सही, सुलभ र प्रभावकारी प्राविधिक शिक्षाको ग्यारेन्टी गर्नुपर्ने औल्याए । 

salt training

कमेन्ट गर्नुहोस्