२५ जेठ २०८३, सोमबार

मेयरले हत्याकाण्डमा सफाइ पाउँदा नगरपालिकाले दियो बिदा, आज तमु ल्होसार

मेयरले हत्याकाण्डमा सफाइ पाउँदा नगरपालिकाले दियो बिदा, आज तमु ल्होसार

काठमाडौं– रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहले हत्या आरोपमा सर्वोच्च अदालतबाट सफाई पाएको खुसीयालीमा आइतबार नगरपालिकाले बिदा दिएको छ । 

कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका उनले शुक्रबार सर्वोच्च अदालतबाट सफाइ पाएका थिए । 

शनिबार हेलिकप्टर नै चार्टट गरेर गृहजिल्ला पुगेका उनको सम्मानमा आइतबार नगरपालिका, वडा कार्यालय र नगरक्षेत्रका सबै विद्यालयमा सार्वजनिक बिदा दिइएको हो । 

यसो त शुक्रबार जेलबाट छुटेलगत्तै उनी नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए ।  शनिबार भने हेलिकप्टरमार्फत कटहरियास्थित जनता माविको प्राङ्गणमा उत्रिए । उनलाई नगरबासीले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरेका थिए । विश्व हिन्दू महासंघ पर्साका अध्यक्ष कासी तिवारी हत्या आरोपमा सियाराम जेल परेका थिए । उनी बैशाख २७ गते पक्राउ परेर जेल चलान भएका थिए । 

तमु ल्होसार
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । 

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । 

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । 

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । 
यसैबीच ल्होसारको अवसरमा आज प्रदेश ४ सरकारले बिदा दिएको छ  । 

पेस्तोलसहित चार जना पक्राउ

सशस्त्र प्रहरी बलको विशेष टोलीले भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भीमप्रकाश दाहाल छन् । 

प्रकाउ परेका चारै जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

अबदेखि विषयगत अध्यापन अनुमतिपत्र
शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ । 
आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ । 
शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । 

विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ । 

ऋण लिनेक्रम बढ्दो
सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ । 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि एक हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् । 

भूकम्पपीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराएको छ । 

त्यस्तो कर्जा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितबाट दुई प्रतिशतमात्रै व्याज लिन पाउनेछन् । केन्द्रीय बैंकले हालै प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो चार महीनाको विवरणअनुसार रु दुई अर्ब २३ करोड कर्जा उपलब्ध गराइएको छ । 

पुनःनिर्माण प्राधिकरणका अनुसार हालसम्म तीन लाख ३८ हजार १४७ निजी घर तथा आवास पुनःनिर्माण भएका छन् । बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने लक्ष्यले रु १५ अर्ब ६३ करोड पुनःकर्जा लगानी गरेको छ । 

यस्तै गत कात्तिक मसान्तसम्ममा सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ७४९ रहेका छन् । 

सो कार्यक्रमअन्तर्गत रु १४ अर्ब ३८ करोड ऋण बक्यौता रहेको छ । यस्तै रु ७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

स्वर्गीय राजा वीरेन्द्रको सम्झना
तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार उनलाई स्मरण गरियो । 

स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उनँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गर्यो । 

कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार राखे । 

वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्व राजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन, संवाद सचिव डा फणीराज पाठकलगायत धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र समाजसेवीको कार्यक्रममा उपस्थिति थियो । वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो । 

‘निर्मला हत्या प्रकरणमा प्रहरी संवेदनशील’
महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएकोे बताएका छन् । 

राजधानीमा शनिबार आयोजित एक  कार्यक्रममा उनले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताए ।  “निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्”, उनले भने ।  

उनँले आर्थिक वर्ष ०७४÷०७५ मा प्रहरीमा बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको जानकारी दिए । 

नाइजेरियाका पूर्व राष्ट्रपति शागरीको निधन
नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए । 

salt training

कमेन्ट गर्नुहोस्