२७ जेठ २०८३, बुधबार

दलित बालबालिका मात्र पढ्ने विद्यालय

दलित बालबालिका मात्र पढ्ने विद्यालय

विराटनगर–मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा विद्यालय हो, रवि आधारभुत विद्यालय । विद्यालयको मुख्यद्वारबाट छिर्ने बितिकै दायाँपट्टी फूलवारी बनाउन लागिएको छ । बायाँपट्टी एउटा पुरानो घर अनि अलि पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । यहीबीचमा निर्माण पूरा भएको यो भवनको उद्घाटन भने भइसकेको छैन । 

२०४५ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहँदै आएका छन्  । कक्षा ७ सम्म पढाई हुने भएकाले स–साना बालबालिका मात्र  विद्यालयमा देर्खिन्छन् । शुरुका दिनमा गाउँमा विद्यालय नहुँदा झोराहाट पुग्न टाढा हुने भएकोले स्थानीय सरदार समुदायका केही व्यक्ति मिलेर विद्यालय संचालनको योजना बनाए ।

अहिलेको विद्यालय भएको ठाउँमा त्यो बेला बाँसघारी थियो । त्यही बाँसघारी फाँडेर बिद्यालय निर्माणको काम शुरु भएको हो । विद्यालय बनाउनु पर्छ भन्ने २–४ जना मात्र थिए । गाउँका करिब २०–२२ जना बालबालिका भेला पारेर २०४५ सालमा विद्यालय संचालनाको अबधारणा अघि सरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकुमार सरदारले बताए । 

त्यो बेला गाउँका कोही पनि बिद्यालय नजाँदा गाउँमा निक्कै समस्या थियो, त्यो समस्या समाधानको लागि शिक्षा नै पहिलो आधार भएकोले आफूहरु विद्यालय निर्माणमा लागेको सरदारले बताए । शुरुमा बाँसको बेरा र प्लाष्टिकको छानोमा विद्यालय संचालनमा थियो । त्यसपछि  रेडक्रसले बनाएको टीनको छानो भएको भवन २०७२ सालमा आएको भुईँचालोले भत्काएपछि बालबालिकाले त्यही भत्किएको घरभित्र बसेर पढ्नु पर्ने अवस्थामा पुगे ।

पठन–पाठनमा समस्या भएको विषयमा विद्यालयका प्रधानाध्यापकलाई मात्र हैन विद्यालय व्यवस्थापन समिति पनि जानकार थियो । तर, भवन कसरी बनाउने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिलाई पर्यो । झण्डै २ बर्षसम्म भत्किएको भवनमा बसेर पढेका बालबालिकाहरु अब भने नयाँ भवनमा पढ्न पाउने छन् । अहिले यस विद्यालयमा २६० जना दलित विद्यार्थी अध्ययन गर्दै आएका छन्  ।

यसरी बन्यो नयाँ भवन 

जिल्ला शिक्षा कार्यालयदेखि विभिन्न संघ संस्थासम्म विद्यालयको समस्या सुनाउँदै हिँडेका  विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले कतैबाट पनि श्रोत नपाएपछि ग्रामथान गाउँपालिकामा काम गर्दै आएको एमडिएमएस मार्फत वल्र्ड भिजनसम्म आफ्नो समस्या पुर्याए । वल्र्ड भिजनबाट आएको  ३ जनाको समूहले विद्यालयको अवस्था बारे जानकारी लियो ।

पुरानो भवन भूकम्पका कारण भत्किएको थियो । टिनमा खिया लागेको थियो । करिब ४ पटकको अनुगमनपछि मात्र दातृ निकाय भवन निर्माणमा सकारात्मक देखिएको विद्यालयका प्रधानाध्यापक जीतेन्द्र सरदारले बताए ।करिब ६१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको विद्यालयको २ कोठे भवनसहित शौचालय बनाउने काम ५१ लाख रुपैयाँमा सकिएको हो । जोशिला संकल्प कन्स्ट्रक्सनले निर्माण शुरु गरेको करिब ६ महिनाको अवधिमा विद्यालयले खोजेको जस्तै भवन निर्माण भएको प्रधानाध्यापक सरदारले जानकारी दिए । 

बिद्यालय भवन सँगै शौचालय पनि निर्माण भएको  छ ।  बालमैत्री, बालिका मैत्री र अपाङग मैत्री शौचालय बनाइएको छ । भवन तथा शौचालय निर्माणको फाइदा बिशेषगरी स–साना बालबालिका तथा अपाङ्गतालाई भएको छ । ह्वील चियरमा विद्यालयमा आउने बालबालिकालाई पनि नयाँ निर्माण भएको भौतिक पूर्र्वाधारले सहज बनाएको उनको भनाइ छ ।

भवन निर्माण भएसँगै विद्यालयको व्यवस्थापन समिति विद्यालयलाई थप कसरी सुन्दर बनाउने भन्ने पक्षमा देखिएको छ । दलित मात्र अध्ययन गर्ने यस विद्यालयमा छात्र भन्दा छात्रा बढी रहेका छन्  । विद्यालयको आयश्रोत नै नभएको अवस्थामा  आर्थिक अवस्था कमजोर भएका दलित बालबालिकाको पक्षमा संघ संस्थाको सहयोग प्राप्त हुनुले बिद्यार्थीलाई सहज भएको प्रधानाध्यापक सरदार बताउँछन् ।

यसरी बढ्दै विद्यार्थी

विद्यालयमा प्रधानाध्यापक पनि दलित समुदायकै रहेकोले विद्यालयलाई बनाउनको लागि कम्मर कसेर लागेका छन् । विद्यालय अपाङग मैत्री, किशोरी मैत्री, अनि बालकका लागि छुट्टै शौचालयसँगै खानेपानीको व्यवस्थापन पनि भएको छ । विद्यालयमा सरसफाइको बारेमा सिकाइन्छ ।

भत्किएको पुरानो भवनलाई बालमैत्री तथा अपाङ्ग मैत्री बनाईँदा बिद्यालय छाड्ने बालबालिका नियमित बिद्यालय आउन थालेको विद्यालयकी शिक्षक  कविता भट्टराई लुईँटेलले बताइन् । त्यस्तै विद्यालयले विद्यालयको पठन–पाठन सुधारको लागि अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लागि छुट्टा छुट्टै आचारसंहिता बनाएर होर्डिङर्डमै टाँसेर सबैलाई आचार संहितामा बाँधिएको विद्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्