
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा हुलाकी बाइपास निर्माणको कार्य शुरु भएको छ ।
जग्गा विवादले झन्डै तीन वर्षसम्म हुन नसकेको धनगढीको क्याम्पस रोडदेखि धनगढी गाउँ हुँदै मोहना पूलसम्मको हुलाकी बाइपास सडक विस्तारको कार्य शुरु भएको हो ।
निर्माणको टेण्डर पाएको रमण केएस जेभीले धमाधम माटो फिलिङको कार्य गरिरहेको छ । सो कम्पनीले पुरानै डिपिआर अनुसार भ्याटसहित २३ करोड ११ लाख रुपियाँमा ठेक्का पाएको छ । ठेक्का समयावधि २०७६ भदौसम्म रहेको हुलाकी सडक आयोजनाका इञ्जिनीयर नरेन्द्र ओझाले जानकारी दिए । अवरोधका कारण समयमा काम हुन नसकेकाले यो खण्डमा हुलाकी सडक विस्तारको कार्य निर्धारित समायवधिमा सकिने सम्भव छैन । समय थपिने आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
यसअघि सडक चौडाइको विरोध गर्दै आएका सम्बन्धित क्षेत्रका स्थानीय सहमतिमा आएपछि सडक निर्माणको धमाधम काम अगाडि बढेको हो । क्याम्पस रोडदेखि धनगढी गाउँ चोकसम्म १४ मिटर चौडा सडक बनाउन सकिने स्थानीयले सहमति जनाएका छन् । स्थानीयको अवरोध हटेपछि सडक विस्तारको काम थालिएको हो ।
तर, धनगढी गाउँ चौकदेखि भन्सारसम्म आसपासमा संरचना धेरै परेकाले ९ मिटर चौडामात्रै सडक बनाउन सो सडक खण्डका स्थानीयको माग छ । विवादित खण्डमा स्थानीयको चाहना अनुसार बाइपास रोड बनाउने निर्णय धनगढी उपमहानगरपालिकाको कार्यालयले गरेपछि सडक निर्माणको काम धमाधम थालिएको वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले जानकारी दिए ।
क्याम्पस रोडदेखि धनगढी गाउँ चोकसम्मको विवाद समाधान भएपछि पुस १४ गतेदेखि सडक निर्माणको काम थालिएको अध्यक्ष बरालले बताए ।
धनगढी क्षेत्रमा हुलाकी सडकको अधिकार क्षेत्र १२ मिटर चौडा हो । तर, हाल काम भइरहेको क्षेत्रमा स्थानीयले नै १४ मिटर चौडा बनाउन सकिने सहमति जनाएका छन् । विकास सबैलाई आवश्यक रहेकाले स्थानीयहरुले नै १४ मिटर चौडा सडक बनाउनु पर्ने माग गरेको वडा नम्बर ८ का स्थानीय अमोद कठायतले बताए । १४ मिटर चौडाइ रहने गरी नै काम भइरहेको छ ।
यसअघि, पहिलो चरणमा हुलाकी सडक निर्माण गरेको भारतीय निर्माण कम्पनी जीआर गावरले विवादकै कारण धनगढी क्षेत्रमा सडक बनाउन सकेको थिएन । स्थानीयले विरोध जनाएपछि उक्त कम्पनी काम नगरी फिर्ता गएको थियो ।
यसैबीच, जिल्लाको कैलारी गाउँपालिकामा पर्ने बसन्ता वन क्षेत्रको दुई किलोमिटर खण्डमा रुख कटानको आदेश प्राप्त नहुँदा हुलाकी सडक विस्तारको कार्य रोकिएको छ । १ हजार ४ सय ४० रुख रहेको सो खण्डमा रुख कटानी नहुँदा काम अगाडि बढ्न सकेको छैन ।
कैलालीमा हुलाकी सडकको लम्बाई ७० किलोमिटर रहेको छ । यसअघि, ४३ किलोमिटर हुलाकी सडक जीआर गावरले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । बसन्ता रेञ्जपोष्टको कार्यालयदेखि पूर्व लालबोझीसम्म १६ किलोमिटर र धनगढी क्षेत्रमा छ किलोमिटर गरी २२ किलोमिटरमा निर्माणको काम भइरहेको छ । सत्तीदेखि पूर्व कर्णाली नदीसम्मको तीन किलोमिटर खण्ड सडक भने हुलाकी सडक आयोजना नेपालगञ्जले बनाउँदैछ ।
त्यस्तै, कञ्चनपुर जिल्ला भएर बन्ने हुलाकी सडकको निर्माण कार्यपनि जारी रहेको छ । तर ठेकेदारको ढिलासुस्तीले कञ्चनपुर जिल्लामा पनि निर्माण कार्यले खासै गति लिन सकेको छैन ।