२८ जेठ २०८३, बिहीबार

जनकपुरधामबाट श्रम स्वीकृति दिन शुरु, महानिर्देशक भन्छन्–एक महिना भित्रै सबै काम प्रदेशबाटै हुन्छ

पुस १५, २०७५
जनकपुरधामबाट श्रम स्वीकृति दिन शुरु, महानिर्देशक भन्छन्–एक महिना भित्रै सबै काम प्रदेशबाटै हुन्छ

जनकपुरधाम– वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले दुई नम्बर प्रदेशको राजधानी जनकपुरस्थित कार्यालय बाटै पुनः श्रम स्वीकृति पाउन थालेका छन् । जनकपुरस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको श्रम तथा रोजगार कार्यालय जनकपुरले प्रदेशका आठ वटै जिल्लाका लागि आइतबारदेखि श्रम स्वीकृति दिने कामको सुरुवात गरेको हो ।

पुष १५ गते(आज) देखि जनकपुरधामबाटै श्रम स्वीकृति पाइने जानकारी पाएका धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ का २८ वर्षिय मोहम्मद जिलानी मोमिम आइतवार १० बजे नै श्रम कार्यालय पुगिसकेका थिए । केही साता अगाडि काठमाडौं पुगेर अनलाइन फारम भरेको भए पनि धेरै भीडका कारण श्रमको पुनः स्वीकृति नगराइकनै उनी जनकपुर फर्किएका थिए । 

मोहम्मदले भने,‘आज बिहानै घरबाट जनकपुर आएँ । आज त यहाँ भीडभाड पनि थिएन, सजिलै श्रम स्वीकृति पाएँ ।’ घर नजिकै श्रम स्वीकृति पाउँदा उनी निकै खुसी थिए । हाँस्दै लोकान्तरसँग मोहम्मद जिलानीले भने, ‘काठमाडौं जाँदा आउँदा, बस भाडा, होटेलमा बस्दा, कतिपय दिन लामो लाईन लाग्दा १० देखि १५ हजार रुपियाँसम्म अनाबश्यक खर्च हुन्थ्यो, तर अहिले सामान्य खर्चमा श्रम स्वीकृति पाउँदा धेरै नै खुसि लागेको छ ।’

जनकपुर कार्यालयबाट श्रम स्वीकृति पाउने उनी पहिलो व्यक्ति हुन् । 

मोहम्मद जिलानी वैदेशिक रोजगारीका लागि कतार गएका थिए । फास्ट बिल्डर कन्स्ट्रक्सन कम्पनीमा काम गरिरहेका उनी सन् २०१८ को सेप्टेम्बर पहिलो साता नेपाल आए । १० जनवरी, २०१९ भित्र पुनः कतारमा फर्किनु पर्ने उनलाई घर नजिकै श्रम स्वीकृति लिन पाउँदा सरकार गाउँघरमै आएको आभास भयो । 

त्यस्तै मोहम्मद जिलानीसँगै कतारमा काम गरिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय विजय मुखियाले पनि श्रम स्वीकृति पाए । श्रम स्वीकृति पाउने उनी दोस्रो व्यक्ति हुन् । ‘घरमै श्रम पाउँदा अत्यन्तै खुशी छु, अब जनतालाई काठमाडौं जानु पर्दैन, यस क्षेत्रका सबै मानिसलाई अत्यन्तै सुविधा भयो, मुखियाले लोकान्तरसँग भने ।

धनुषाकै हंशपुर नगरपालिका वडा नम्बर ७ नौवाखोर पर्साहिका जलिल नदाफले पनि श्रम स्वीकृति पाएका छन् । कतारको एलएनटि कम्पनीमा कार्यरत रहेका ४५ वर्षीय नदाफ ६ महिना अघि छुट्टीमा नेपाल फर्किएका थिए । घर आउँदा बिरामी भएर समयमा काममा फर्किन नसकेका नदाफले श्रम स्वीकृति पाए पछि केही दिनमै कतार फर्किएर मेडिकल रिपोर्ट समेत पेश गर्ने बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धिका ५५ वर्षीया इसराईल नदाफले पनि आजै श्रम स्वीकृति पाएका छन् । बिगत २१ वर्षदेखि साउदी अरबको मोजरा कम्पनीमा काम गरिरहेका नदाफले भने, ‘यस अघि काठमाडौंबाट काम गराउनु पर्दा धेरै नै हैरानी हुन्थ्यो, तर अब घरमै पाउँदा हामीलाई धेरै नै सुबिधा भएको छ ।’ काठमाडौं जाँदा बस भाडा, होटेल खर्च, ट्याक्सी खर्च, दलालको फन्दामा पर्ने डर, बिमा शुल्क बुझाउन दलाललाई खर्च, श्रम फारम भर्न दलाललाई अलग खर्च दिनु पर्थ्यो , अनावश्यक रूपमा १० देखि १५ हजार रुपियाँ खर्च पर्न जान्थ्यो तर, आज त्यो सबै खर्च बचत हुनुका साथै समय, समस्या सबैको बचत भएको छ, नदाफले भने ।

त्यसै गरी धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सोहनीका ३७ वर्षीय बिनोद ठाकुरले पनि श्रम स्वीकृति पाएका छन् । उनले भने, ‘म अब आफ्नो गाउँमा गएर सबैलाई भन्छु की अब श्रम स्वीकृति जनकपुरबाटै हुन्छ । सयौं मान्छेको लाइन भोलीदेखि नै यहाँ लाग्छ ।’

विभागका महानिर्देशक जनकपुरमा

आजबाट श्रम स्वीकृतिको काम सुरु हुने भए पछि विभागका महानिर्देशक उदय कुमार गुप्ता आफैं जनकपुर स्थित श्रम कार्यालयमा आएका थिए । महानिर्देशक गुप्ताले लोकान्तरसंग भने, ‘आजबाट प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ बाट श्रमको पुनः स्वीकृति प्रदान गर्ने काम शुरु भएको छ ।’ 

एक महिना भित्रमा श्रम स्वीकृतिसम्बन्धी सबै कामका साथै व्यक्तिगत रुपमा विदेश जाँदा चाहिने अनुमति दिने व्यवस्था प्रदेशबाटै हुनेछ ।  गन्तव्य देशको नेपाली दूतावासबाट प्रमाणीकरण भएर आएकोे डिमाण्ड लेटरपनि प्रदेश स्थित श्रम कार्यालयबाट नै जारी हुने गुप्ताले बताए ।

अहिले कर्मचारीको अभाव हुनुका साथै वैदेशिक रोजगारी विभागको कामको अभ्यस्तता समेत नभएकाले वैदेशिक रोजगारी विभागको कार्यालयबाट हुने सबै काम सुरु हुन कम्तिमा पनि एक महिना लाग्ने महानिर्देशक गुप्ताले बताए ।

अहिले बाँकी काम काठमाडौंबाट भइरहेको छ । काठमाडौंमा यसअघि भइरहका काम भने नरोकिएको महानिर्देशक गुप्ताले बताए ।

यस अघि श्रम कार्यालयले श्रमको आन्तरिक काम, कारखानाको काम, ट्रेड युनियनको काम, बाल श्रमको अनुगमन लगायतका काम मात्रै गर्दै आएकोमा श्रम कार्यलयलाई वैदेशिक रोजगार विभागको काम पनि थपिएको छ ।
नेपालबाट वैदेशिक रोजगारीका लागि जानेमा सबै भन्दा बढी नागरिक प्रदेश नम्बर २ बाट रहने गरेका तथ्यांकहरुले देखाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्