
काठमाडौं -संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ पर्सिसम्मका लागि स्थगित भएको छ ।
आफ्नो सेवा/सुविधा वृद्धिको मागसहित आन्दोलनरत कर्मचारीले कार्यालय समय (अपराह्न ४ बजे) पछाडि काम नगर्ने बताएपछि सुनुवाइ पर्सि मंगलवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
कर्मचारीहरूले ४ बजेपछि काम नगर्ने भएपछि समिति सभापति लक्ष्मणलाल कर्णले भोलिका लागि बैठकको प्रस्ताव गरेका थिए, तर कांग्रेसका तर्फबाट सदस्य रहेकाहरूले भोलि मेलमिलाप दिवसको कार्यक्रम रहेकाले सहभागी हुन नभ्याउने बताएपछि पर्सिसम्मका लागि स्थगित भएको हो ।
यसअघि बैठकमा आफ्नो अवधारणा पेश गर्दै जबराले संविधान कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाएका थिए । यस्तै संघीयता कार्यान्वयनमा आउने विवाद सुल्झाउने, न्यायपालिकाप्रतिकाे जनविश्वस र आस्था कायम राख्ने तथा भ्रष्टचारप्रति शून्य सहनशीलताको नीति अख्तियार गर्दै अदालतमा देखिएका विचलनका हटाउने प्रतिबद्धता समेत जनाए ।
बैठकमा सांसदहरूले जबरालाई विभिन्न प्रश्न गरेका छन् । २ सदस्यले बोल्न र जबराले जवाफ दिन बाँकी छ ।
सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश जबरालाई जुवातासलाई मान्यता दिने गरी म्यारिजलाई म्यारिजलाई बौद्धिक खेल भन्ने फैसला गरेको,ब्ल्याकमेलबाट न्यायालयमा प्रवेश गरेको लगायतका विषयमा प्रश्न सोधेका छन् ।
मंगलवारको बैठकमा थप २ सदस्यले बोलेपछि जबराले जवाफ दिनेछन् ।
सर्वोच्चका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल यही पुस १७ गते सकिँदैछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा अबको करीब ४ वर्ष जबराले सर्वोच्चको नेतृत्व सम्हाल्नेछन् ।