०३ असार २०८३, बुधबार

सिरियाबाट अमेरिकी सेना हटेपछि मोर्चा सम्हाल्दै रुस र टर्की

सिरियाबाट अमेरिकी सेना हटेपछि मोर्चा सम्हाल्दै रुस र टर्की

काठमाडौं — सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनल्ड ट्रम्पको फैसलापछि रुस र टर्कीले सिरियामा मिलेर काम गर्ने सहमति गरेका छन् ।

यो मुद्दामा चर्चाका लागि रुसी परराष्ट्रमन्त्री सर्गेई लाभ्रोभ र टर्कीका परराष्ट्रमन्त्री मेभ्लुत चोवाशुग्लुले शनिवार मस्कोमा भेटघाट गरेका छन् । 

भेटघाटपछि चोवाशुग्लुले अमेरिकाको आकस्मिक फैसलापछि सिरियामा मिलेर काम गर्ने सहमति दुई देशले गरेको बताए । 

उनले भने, ‘हामीले अमेरिकाको निर्णय र सिरियाको ताजा स्थितिको चर्चा ग–यौं । भविष्यमा मिलेर काम गर्ने र उग्रवादीविरुद्धको लडाईंका बारेमा पनि हामीले चर्चा गरेका छौं ।’

‘हामीले सिरिया शान्ति प्रक्रियाका लागि अस्तानामा कुराकानी गरेका थियौं र त्यही प्रक्रियालाई अघि बढाउँदै हामी सिरियाको क्षेत्रीय अखण्डता र राजनीतिक एकतालाई प्रतिबद्ध छौं । यसलाई हानि गर्न खोज्ने कुनै पनि शक्तिलाई हामी विरोध गर्छौं ।’

दुवै देशले सिरियाबाट बाहिरिएका शरणार्थीलाई फिर्ता बोलाउने र फेरि बसाउने योजना पनि बनाउने उनको भनाइ छ । सिरियामा रुस र इरान समेतका क्षेत्रीय समूहको सहयोगमा हामी अघि बढ्नेछौं । 

‘सिरियामा स्थायी रूपमा शान्ति बहाल गराउन र द्वन्द्वको राजनीतिक समाधान खोज्न हामी कोशिश गर्नेछौं ।’

रुसका परराष्ट्रमन्त्री सर्गेई लाभ्रोभले भने, ‘दुवै पक्षले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव २२५४ लाई पालन गर्ने र सिरियाली गणतन्त्रको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने कुरामा जोड दिएका छन् ।’ 

समाचार संस्था रोयटर्सका अनुसार, दुई हप्ताअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनसँग फोनमा कुराकानी गरेर आफ्नो निर्णय सुनाएका थिए । 

रोयटर्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्प टर्कीलाई उत्तरपूर्वी सिरियामा अमेरिकासमर्थित कुर्द लडाकूमाथिको आक्रमणको विरोधका सम्बन्धमा चेतावनी दिनका लागि फोन गर्ने सुरमा रहेको बताए । 

तर टर्कीका एक अधिकारीका अनुसार, ट्रम्पले कुराकानीका बेलामा अर्दोआनलाई सोधे, ‘अमेरिकाले सिरियाबाट आफ्ना सैनिक हटाएमा टर्कीले इस्लामिक स्टेटलाई सिध्याउने जिम्मेवारी लिन्छ त ?’ अनि टर्कीले हुन्छ भन्यो ।

राष्ट्रिय सुरक्षा मामिलामा राष्ट्रपति ट्रम्पका सल्लाहकार जोन बोल्टनले ट्वीट गरेर अमेरिकाले सिरियाबाट आफ्ना सैनिक हटाउने काम शुरू गरिसकेको बताए । 

डिसेम्बर २० मा ट्रम्पले इस्लामिक स्टेटमाथि ऐतिहासिक जीत हासिल भएको र अमेरिकी सैनिक घर फर्किने बेला भएको घोषणा गरेका थिए । 

ट्रम्पले भने, ‘म सैनिक परिवारसँग कुराकानी गर्दा एकदमै दुःखित हुन्छु । उनीहरू युद्धको मैदानमा हुनु गर्वको कुरा हो तर त्यहाँ उनीहरूलाई खटाउनु हाम्रा लागि दुःखको कुरा हो । त्यसैले उनीहरूलाई हामी घर फर्काउन चाहन्छौं
।’

ट्रम्पले अर्दोआनसँग डिसेम्बर २३ मा फोनमा कुराकानी गरेर सिरिया संकट, इस्लामिक स्टेट र अमेरिकी सेनाको फिर्तीका बारेमा कुरा गरेका थिए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्