पर्सा, २४ फागुन –बन्द अवज्ञा नगरेको भन्दै आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले जिल्ला हुलाक कार्यालय पर्सामा तोडफोड गरेका छन् ।

वीरगन्जको मुर्लीबगैँचास्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिकै रहेको हुलाक कार्यालयमा आज अपराह्न करिब साढे १ बजे मोटरसाइकलमा पुगेका आन्दोलनकारीको समूहले तोडफोड गरेको हो ।
आन्दोलनकारीले कार्यालयको झ्यालको सिसा, कम्युटर, कुर्सी, टेबुल तोडफोड गर्नाको साथै सेवा प्रवाह गरिरहेका कर्मचारीलाई समेत कुटपिट गरेको कार्यालयका निमित्त प्रमुख प्रदीपकुमार मेहताले जानकारी दिए ।
हुलाक कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेपछि कार्यालयको सुरक्षा बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
यता सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव यहाँ परेको छ ।
बन्द आह्वानकर्ताले बिहानैदेखि वीरगन्जका विभिन्न चोकमा टायर बाली लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएपछि बसपार्कमा यात्रुहरु अलपत्र परेका छन् ।
यातायातका साधन सञ्चालन नभएपछि भारतको रक्सौल नाका हँदै नेपाल प्रवेश गरेका यात्रु मर्कामा परेका छन् ।
जिल्लास्थित नेकपा एमालेको कार्यालय तथा नेताहरुलाई सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिनुभयो।