
काठमाडौं – १ साताभित्र संविधान संशोधनको प्रक्रिया थाल्ने आश्वासन पाएपछि समर्थन फिर्ता नलिने मुडमा पुगेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर बेवास्ता गर्दै आइरहेका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संसदमा संविधान संशोधनको विषय उठाउने भनिएपनि व्यस्ततालाई कारण देखाउँदै बोल्ने कार्यक्रम रद्द गरिएको थियो ।
राजपा अध्यक्षमण्डलका नेतासँग पुस १० गते सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले १ साताभित्र संविधान संशोधनको प्रक्रिया शुरू गर्ने प्रतिवद्धता जनाएका थिए ।
संविधान संशोधन गरेर आफ्ना माग पूरा गर्नुपर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिएर चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुपर्ने मागमा छलफल भएको थियो । सरकारलाई समर्थन गरेको राजपाले आफ्ना कुनै पनि माग सम्बोधन नभएको भन्दै ३ महिनाअगाडि नै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
राजपाका नेताहरूले सरकारको रवैया र बेवास्ता ठीक नभएको प्रतिक्रिया दिएका छन् । ‘आज प्रधानमन्त्री ज्यूले संसदमा संविधान संशोधनबारे सम्बोधन गर्ने कार्यक्रम थियो । तर त्यो रद्द भएको हामीले थाहा पाएका छौं,’ अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले लोकान्तरसँग भने, ‘सरकारको असली चरित्र के हो ? जनताले थाहा पाउनुपर्छ ।’
‘भोलि हामीले यत्तिकै समर्थन फिर्ता लिने निर्णय गर्यौं भने उनीहरूले हामीले संशोधन गर्न–गर्न खोजेका थियौं तर तपाईहरूले समर्थन फिर्ता लिइदिनुभयो भनेदेखि हाम्रो जवाफ के हुने ?’ यादवले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले आफ्ना मागहरू निरन्तर बेवास्ता गरेको विषयमा एकचरण आन्तरिक छलफल गर्ने यादवको भनाइ छ ।
फरक प्रसङ्गमा संघीय समाजवादी फोरमसँग गर्ने भनेको एकता सम्भव नभएको यादवले जानकारी दिए । ‘मिडियामा आइरहेको छ । तर आन्तरिक कुराकानी केही भएको छैन,’ यादव भन्छन्, ‘एकता भन्ने कुरा यत्तिकै लेख्दिएर मात्र हुन्छ ?’
संविधान संशोधनको माग गर्ने अर्को मधेश केन्द्रित दल फोरम सरकारमा सहभागी भएको छ । तर आफ्ना माग पूरा गराउन छाडेर फोरम सरकारसामु नतमस्तक बनेको राजपाका नेताले आरोप लगाउने गरेका छन् । यद्यपि राजपाभित्रै सरकारमा सामेल हुने र नहुनेमा विवाद कायम छ ।