१३ असार २०८३, शनिबार

वाइडबडी प्रकरणमा बहालवाला मन्त्रीसहित तीन सचिवलाई कारबाही सिफारिस, माघे संक्रान्तिमा २ दिन बिदा

वाइडबडी प्रकरणमा बहालवाला मन्त्रीसहित तीन सचिवलाई कारबाही सिफारिस, माघे संक्रान्तिमा २ दिन बिदा

काठमाडौं– नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी र तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । 

मंगलबार राति अबेरसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ । कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न पनि सिफारिस गरेको छ । 

करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार भएको स्रोतले जनाएको छ । राति अवेर सकिएको बैठकमा मन्त्री अधिकारी, सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको छ । पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाही सिफारिस भएको छ ।

तत्कालीन पर्यटन सचिवहरु प्रेम राई र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको एक सदस्यले बताए । राई हाल गृह मन्त्रालयका सचिव छन् । यसबारे थप अनुसन्धान गर्न अख्तियार पठाउने पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ प्रधानन्यायाधीशको शपथ आज
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चालेन्द्र शमशेर जबराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस अनुमोदन गरेको हो । जबराले बुधबार बिहान साढे १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ । 

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो जलवायु सम्मेलन
दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन मंगलबार सम्पन्न भएको छ । देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रतिनिधिलगायत जलवायु विज्ञको सहभागितामा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्नुभएको थियो । 

घोषणापत्रमा जलवायु परिवर्तन तथा यसले पारेका असरबारे वैज्ञानिक खोज अनुसन्धान गर्दै जनचेतनामा जोड दिने, जलवायु परिवर्तनले मानव जीवनमा पारेको नकारात्मक असरबारे भरपर्दो सूचना प्रवाह गर्नुका साथै समुदायमा आधारित जलवायु अनुकूलन तथा न्यूनीकरणका उपायलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तर्जुमा प्रभावकारिताका लागि राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वयकारी भूमिकामा जोड दिनेलगायतका विषय समावेश छन् । 

सम्मेलनमा सहभागी जलवायु विज्ञले प्रस्तुत गरेका कार्यपत्रमा गम्भीर छलफलसहित पृथ्वीमा भइरहेको तापमान वृद्धिलाई कसरी कम गर्न सकिन्छ भन्ने साझा निष्कर्ष निकाल्दै सम्मेलन सकिएको कार्यक्रम व्यवस्थापन संयोजक एवं जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए । 

सम्मेलनमा सहभागी जिसस प्रमुख तथा उपप्रमुखले विश्वमा भइरहेको औद्योगिक चाप, वातावरण प्रदूषण तथा प्राकृतिक स्रोतको अव्यवस्थित दोहनका कारण जलवायु परिवर्तनको असर नेपालमा समेत प्रत्यक्ष देखा पर्न थालेको निष्कर्ष निकाल्दै यसलाई रोक्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनले नेपालजस्ता हरियाली वनजङ्गल, जलस्रोत तथा हिमशृङ्खला भएका देशमा प्राकृतिक सम्पदामा धनी भएर पनि कार्बन उत्सर्जनको प्रत्यक्ष असर परेकाले यसको रोकथामका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब दिन आह्वान गरेको छ ।

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै 
नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । 

‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । वैशाखदेखि प्रक्षेपण हुने उक्त भूउपग्रहबाट देशका विभिन्न स्थानको तस्वीर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ । जापानमा भूउपग्रह निर्माण भई अमेरिकाबाट प्रक्षेपण गरिने जनाइएको छ ।  

डा. गोविन्द केसी फेरी अनशन बस्दै
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी बुधबारबाट फेरि अनशन बस्दैछन् । सरकारसंँग भएको सम्झौता पुरा नभएको भन्दै उनी आमरण अनशनको तयारीमा जुटेका हुन् । 

डा. केसी १६औं अनशन बस्न इलाम पुगेका छन् । १४ पटकसम्म काठमाडौंमा अनशन बसेका डा. केसी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ औं अनशन बसेका थिए । २७ औं दिनमा उनको १५ औं अनशन तोडिएको थियो । गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने माग राखेका छन् । 
 
छ बालश्रमिकको पुनःस्थापना
घोराही उपमहानगरपालिका दाङले छ जना बालश्रमिकलाई उद्धार गरेर पुनःस्थापना गरेको छ । घोराही बजार क्षेत्रका विभिन्न स्थानमा जोखिमपूर्ण काममा संलग्न छ जना बालबालिकालाई कार्यस्थलबाट उद्धार गरेर पुनःस्थापना गरेको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् । 

घोराही उपमहानगरपालिका वडा नं १९ सिमलडाँडा बस्ने रेशम रोकामगर, बङ्गलाचुली गाउँपालिका– ३ फाटा बस्ने वीरबल नेपाली, गढवा गाउँपालिका– ६ घोरा बस्ने भुवन देवकोटा, तुलसीपुर उपमहानगरपालिका– १८ दूधरास बस्ने यज्ञबहादुर सार्की, घोराही उपमहानगरपालिका– १४ बसपार्क बस्ने अर्पण सुनार र वडा नं १३ आनन्दनगर बस्ने रविन विकलाई उद्धार गरिएको उपमहानगरपालिकाले बताएको छ । 

प्रतिष्ठानद्वारा चर्को शुल्क वृद्धि
राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वामित्व लिएको तीन महीनाभित्रै सेवा शुल्कमा वृद्धि गरिएको छ । प्रतिष्ठानका अनुसार सेवा शुल्क मंगलबारदेखि वृद्धि गरिएको हो । 

विगतमा बिरामीले श्ययाको प्रयोग गरेबापत पैसा तिर्न नपर्ने र अब प्रतिव्यक्ति रु १०० तिर्नुपर्ने भएको छ । प्रतिष्ठानले सार्वजनिक गरेको मूल्य दरमा पहिले पैसा नलाग्ने जनरल एनेस्थेसिया गर्दा अब रु तीन हजार ५०० र स्पाइनल एनेस्थेसियाको रु दुई हजार ५०० तिर्नुपर्ने भएको छ । सामान्यरुपमा बच्चा जन्मिएमा पनि प्रतिष्ठानलाई रु तीन हजार शुल्क बुझाउनुपर्ने छ । शल्यक्रिया गरेर बच्चा जन्माउँदा रु १२ हजार तिर्नुपर्नेछ । पहिला अस्पतालले गर्भवतीको शल्यक्रिया निःशुल्क गर्दै आएको थियो । 

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा 
प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्य रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

प्रधानन्यायाधीश मिश्रको अवकास
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट अवकास लिनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उहाँले गत भदौ २५ गतेदेखि कार्यभार सम्हाल्नुभएको थियो । 

प्रेस विज्ञप्ति जारी गरी उहाँले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उहाँले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्नी शुभकामना पनि व्यक्त गर्नुभयो । 

‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता हुने
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी वैशाख र जेठमा ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार गरेको पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो । 

प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन् । टोलीमा विदेशी खेलाडीसमेत सहभागी हुन पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्