
काठमाडौं फागुन २४ - नेकपा एमालेले सोमवार सप्तरीमा भएको सभापछि मधेशी मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीमाथि पचासौं पेट्रोल बम हानीएको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बहराहीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव इश्वर पोखरेलले एमालेको कार्यक्रम सकिएपछि मोर्चाका कार्यकर्ताको आक्रमणबाट ४५ जना सुरक्षाकर्मी घाइते भएका जनाएका हुन् ।
‘एमालेको सभा सकिएलगत्तै पचासौं पेट्रोल बम प्रहार गरियो, सुरक्षा कर्मीमाथि हमला गरियो, ४५ जना सुरक्षाकर्मी घाइते छन्’ पोखरेलले भने ।
एमाले महासचिव पोखरेलले सुरक्षाकर्मीको सुझबुझपूर्ण कार्यका कारण सप्तरीमा ठूलो क्षती हुन नपाएको बताए । उनले मधेशी मोर्चाका अराजक क्रियाकलापका बावजदुत एमालेको अभियान जारी रहने बताए ।
‘संविधान र लोकतन्त्रको रक्षाको खातिर एमालेको अभियान रोकिदैन, अराजनीतिक क्रियाकलापका विपक्षमा उभिन्छ’ उनले भने, ‘संवेदनशीलतालाई हेरेर केही दिन स्थगित भएपनि मेची–महाकाली अभियानको कार्यक्रम जारी रहन्छ ।’