
बुटवल – अर्घाखाँची मालारानी गाउँपालिका–२ का वडाध्यक्ष विगत १६ दिनदेखि सम्पर्कविहीन भएका छन् ।
पुस २ गते सन्धिखर्क जान्छु भनेर घरबाट निस्केका अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद भुसाल भनिने) अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
उनका परिवारले अध्यक्ष भुसालको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा निवेदन दिएपनि अहिलेसम्म पत्ता लाग्न नसकेको विनोदका दाजु जीवलाल भुसाले बताए ।
‘अर्घाखाँची सदरमुकाम जान्छु भनेर पुस २ गते बिहान घरबाट निस्केको थिए,’ दाजु विष्णुले भने, ‘सन्धिखर्क गुन्टेखोलास्थित मोटरसाइकल ग्यारेजमा मोटरसाइकल मर्मत गर्न दिएर कपिलवस्तुको गोरूसिङ्गे जान्छु भनेर हिँडेको जानकारी भयो । तर अहिलेसम्म उनको अवस्था अज्ञात छ ।’
विष्णुले थपे, ‘फोन गर्दा उनको मोवाइल कपिलवस्तु वनगाईमा बसका चालकले उठाए । चालकले गाडीमा मोबाइल खसाएरको भनेर जानकारी गराएका थिए ।’ ४१ वर्षीया विनोद तत्कालीन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका परिवारले पुस ४ गते नै प्रहरीमा निवेदन दिएका थिए ।
विनोदका साइला बाबा यदुनाथ पाण्डेले आफूहरूले उनको खोजी गरिदिन प्रहरीलाई पटक–पटक निवेदन गर्दा समेत खासै चासो नदिएको बताए । अध्यक्ष विनोद फर्निचार व्यवसाय पनि गर्दै आएका थिए । उनको कसैसँग केही विवाद र झैझगडा समेत नभएको परिवारले बताएका छन् ।
परिवारले पुस १० गते सन्धिखर्क पनि पत्रकार सम्मेलन गरेका थिए । उनी पत्ता नलागेपछि परिवारले बुधवार बिहान बुटलवलमा पनि पत्रकार सम्मेलन गरी खोजी गर्न सबैलाई आग्रह गरेका थिए ।