
बुटवल – मान्छेको घटना दर्ता अर्थात् जन्मदर्ता, बसाइसराई र मृत्यु दर्ता गरेको सबैले देखे–सुनेकै हो । तर तिलोत्तमा नगरपालिकामा गाईको पनि जन्म, बसाइसराई र मृत्यु दर्ता गर्ने अभियान थालेको छ ।
गाईको जन्म, बसाइसराई र मृत्यु दर्ता गराएबापत किसानहरूले भत्तासमेत पाउँछन् ।
नगरपालिकाले छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको हो । यसको कार्यान्वयन छिट्टै शुरू गरिने जनाइएको छ ।
गाईको जन्मदर्ता, मृत्युदर्ता र बसाइसराई गराउने किसानलाई नगरपालिकाले यातायात खर्च स्वरुप भत्ता उपलब्ध गराउने सोच बनाएको छ । गाईको घटना दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रोत्साहन गर्न भत्ताको अवधारण ल्याइएको हो ।
किसानले दूध दिँदासम्म गाई पाल्ने र अनुत्पादक भएपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगर कार्यपालिकाको बैठकबाट यस्तो नीति लिइएको हो ।
यसका लागि सबैभन्दा पहिलो गाईवस्तुको तथ्यांक लिइने छ । यसरी तथ्यांक लिइएको गाईमा ‘संकेत चिह्न’ लगाइने छ । नगरपालिकाले गाई पालेका किसानको गोठ–गोठमा कर्मचारी खटाएर गाईको लगत लिने र दर्ता गराउने छ ।
सम्पूर्णको विवरण संकलन भएपछि गाई ब्याउँदा, मर्दा वा किनबेच गर्दा त्यसको जानकारी वडा कार्यालयमा दिनुपर्ने छ । यसो गर्दा कसैले पनि गाईलाई छाडा छाड्न नसक्ने र छाडिहालेमा कारवाही गर्न सकिने नगरपालिकाको विश्वास छ ।
नगरपालिकाले पशु बीमामा अनुदान समेत उपलब्ध गराएकाले गाईको मृत्यु वा अनुत्पादक हुँदा बीमाबाट लाभ लिन आग्रह गर्दै आएको छ । ‘हाम्रो यो नीति गाईलाई छाडा छोड्ने प्रवृत्तिलाई निरुत्साहित बनाउनका लागि हो,’ नगर प्रमुख बासुदेव घिमिरे भने, ‘यसो गर्दा किसानकै बाली जोगिनेछ । यसमा सबै किसानको साथ, सहयोग रहने हामीहरूको विश्वास छ ।’
तिलोत्तमामा व्यावसायिक गाईपालन बढ्दै गएसँगै छाडा गाईको संख्या पनि बढ्दै गएको छ । गाईको दर्ता गरेपछि छाडा छाड्न नदिन र बाहिरबाट आउन सक्ने सम्भावित नाकामा नगर प्रहरी परिचालन गरिने नगरपालिकाको योजना छ । तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको पशु बीमा कार्यक्रम अन्तर्गत बीमा गर्ने किसानलाई बीमाको ५० प्रतिशत रकम अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।
छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७४’ पनि जारी गरेको छ । संघीय सरकारले ल्याएको नयाँ मुलुकी संहितामा समेत छाडा चौपाया छाड्नेलाई कैद र जरिवानाको व्यवस्था भइरहँदा तिलोत्तमा नगरपालिकाले ल्याएको कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाड्नेलाई पहिलो पटक बढीमा ३ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।
गाई, गोरु, बाच्छाबाच्छी बेवारिसे छाडिएमा ३ हजार, राँगा, भैंसी, पाडापाडीको ७ सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर, बंगुरको ५ सय जरिवाना गर्ने नियम नगरपालिकाले बनाएको छ ।
नगरपालिकाले छाडा चौपाया नियन्त्रण अभियान सञ्चालन गरेर त्यस्ता चौपाया गौशालासम्म पुर्याउँदै आएपनि घरपालुवा चौपाया सडकमा आउने क्रम नरोकिँदा अभियान अपेक्षित रुपमा प्रभावकारी हुन सकेको छैन ।
नगरपालिकाले जारी गरेको कार्यविधि विपरीत घर–गोठमा पालिएका पशु चौपायाहरू नियतवश घरबाट हटाउने उद्देश्यले सार्वजनिक स्थलमा वेवारिसे छाडिदिने गरेको पाइएमा नगरपालिकाले त्यस्ता पशुचौपाया धनीको यकिन पहिचान गरी पहिलो पटक बढीमा ३ हजार र पटक–पटक गरेमा क्रमशः ५० प्रतिशतका दरले बढाउँदै जरिवाना गरी नियन्त्रणमा लिइएका त्यस्ता छाडा पशु चौपाया सम्बन्धित पशुधनीकै जिम्मा लगाउने नियम नगरपालिकाले बनाएको छ ।
घर–गोठबाट पशु चौपाया हटाउने मनसायले त्यस्ता पशु चौपाया सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा छाड्ने, छाड्न लगाउने कार्यमा संलग्न पशु चौपाया धनीको सूचना दिने व्यक्ति, संघ संस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कार स्वरुप उपलव्ध गराउने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ । सबैको सहयोग र सहकार्यविना छाडा चौपाया नियन्त्रण असम्भव देखिएपछि नगरपालिकाले यस्तो नियम बनाएको हो ।
पालिएका चौपायाको बीमा गराइ उनीहरूको मृत्यु वा अनुत्पादक हुँदा पाइने क्षतिपूर्तिको लाभ लिन सम्पूर्ण पशुपालक किसानमा आग्रह गर्दै नगरपालिकाले पशुको बीमा गर्दा लाग्ने शुल्कको आधा रकम व्यहोर्ने भएकाले यसबाट समेत थप लाभ उठाउन सम्पूर्ण किसानहरुलाई अनुरोध गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा झण्डै ८ सय किसानले नगरपालिकाबाट बीमा बापतको रकम लिएका छन् । बीमा गरेका पशुको मृत्यु भएमा वा अनुत्पादक भएमा क्षतिपूर्ति पाइने भएकाले छाडा छाड्नु नपर्ने नगरपालिकाको भनाइ छ ।