
काठमाडौं – नेपाली स्टिकर र इमोजी सहितको ‘हाम्रो नेपाली किबोर्ड’को नयाँ संस्करणमा गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०१९ को शुभकामना दिँदै प्रयोगकर्ता, शुभेच्छुक तथा विश्वभर छरिएर रहेका नेपालीजन तथा नेपालीभाषी लक्षित गरी किबोर्डको नयाँ संस्करण सार्वजनिक गरिएको जनाइएको छ ।
के छ नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ?
स्टिकरहरू
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्र सहितको स्टिकरहरू राखिएका किबोर्डले जनाएको छ ।
‘मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेसनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ,’ हाम्रो नेपाली किबोर्डद्वारा प्रेषित विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी ८ किसिमका स्टिकरहरू समावेश गरिएको छ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।’


थीम
हाम्रो नेपाली किबोर्डको संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । ‘हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘चलनचल्तिको ‘बकमानसिपवज’ देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरू यथावत् नै छन् ।’

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरू पनि थपिएका छन् । ‘जुन इमोजीहरू जुनसुकै एपमा सजिलैसँग राख्न तथा शेयर गर्न सकिन्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस् । हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दै जानेछौं ।’
हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस् : https://play.google.com/store/apps/details?id=com.hamrokeyboard