२६ असार २०८३, शुक्रबार

कर्मचारीको विवादपछि विराटनगरमा श्रम स्वीकृति सेवा प्रभावित

कर्मचारीको विवादपछि विराटनगरमा श्रम स्वीकृति सेवा प्रभावित

विराटनगर –श्रम तथा रोजगार कार्यालय विराटनगरमा केही दिनअघि देखिएको कर्मचारी विवादले श्रम स्वीकृृति दिने सेवा रोकिएको छ ।

श्रम स्वीकृति प्रदान गर्न न्यूनतम भौतिक पूर्वाधारको जोहो भइसकेको भएपनि कार्यालय प्रमुख र कर्मचारीको व्यवस्थापन नभएका कारण मन्त्रालयले श्रम स्वीकृति दिन निर्देशन पठाएको छैन ।

तत्कालीन कार्यालय प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलले आफ्नो सरुवा अढाई महिनामै भएको भन्दै पत्रकार सम्मेलन गरेर ‘सरकारी कर्मचारी भ्रष्ट भएको’ अभिव्यक्ति दिएका थिए । त्यसको भोलिपल्टै ५ वर्षदेखि कार्यालयमा निमित्त प्रमुखको रुपमा काम गर्दै आएका मणिकुमार गोपले सञ्जेललाई ‘काउन्टर’ दिने गरी पत्रकार सम्मेलन गरेका थिए ।

यी दुई कर्मचारीको विवादका कारण मन्त्रालयले विराटनगरबाट दिन लागेको श्रम स्वीकृतिको काम रोकेको जनाइएको छ । तर मन्त्रालयले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन । विवाद गर्ने दुवै कर्मचारीलाई हाल अन्यत्रै सरुवा गरिएको छ ।

मन्त्रालयले तत्काललाई ५ नम्बर प्रदेशको बुटवल र २ नम्बर प्रदेशको जनकपुरबाट श्रम स्वीकृति दिने काम शुरू गरिएको छ । कर्णालीले सुर्खेतबाट श्रम स्वीकृति दिने कामको शुरूवात पहिलो चरणमा भएको थियो ।

विराटनगरमा रहेको श्रम कार्यालयमा दैनिक २० देखि ३० जना श्रम स्वीकृतिका लागि आउने गरेका छन् । सरकारले पुस १५ गतेदेखि विराटनगरबाट पनि श्रम स्वीकृति दिने भन्ने सुनेकाले आफूहरू उत्साहित भएर श्रम स्वीकृति लिन आएको सेवाग्राहीले बताउने गरेका छन् ।

विराटनगरको श्रम तथा रोजगार कार्यालयले केही थान पुराना कम्प्यूटर मर्मत गरेर आवश्यक काम गर्न सकिने स्थिति बनाएको शाखा अधिकृत ताम्रराज काफ्लेले बताए । मन्त्रालयले हालसम्म निर्देशन नपठाएका कारण श्रम स्वीकृति भने नदिइएको उनले जानकारी दिए ।

कर्मचारी अभाव

कार्यालयमा श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधारको व्यवस्था भइसकेपनि कर्मचारी भने अभाव रहेको छ । सरकारले कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाई इटहरीस्थित सीप विकास तथा तालिम केन्द्रमा सरुवा गरेको छ ।

श्रम ऐन कार्यान्वयनमा कडाइ, भ्रष्टाचार र घुसखोरीविरुद्ध लागेकै कारण साढे २ महिनामै आफ्नो सरुवा गरिएको भन्दै सञ्जेलले सार्वजनिक रुपमै विरोध जनाएका छन् । सञ्जेलले सरुवा बदर नभए जागिरबाट राजीनामा दिने चेतावनीसमेत दिइसकेका छन् ।

कार्यालयका कारखाना निरीक्षक गोपको पनि सरुवा भएको छ । २ जना शाखा अधिकृतसहित ६ जना मात्र कर्मचारी छन् । कुल १४ जना कर्मचारी दरबन्दी रहेको कार्यालयले प्रमुख नै नहुँदा कारखाना निरीक्षण, श्रमिक उद्यमी विवाद र ट्रेड युनियन दर्ता र नविकरणजस्ता नियमित कामसमेत गर्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्