
काठमाडौं– गत कार्तिकदेखि नै यस वर्षको उखु क्रसिङको समय सुरु भएपनि चिनी उद्योगीहरुले अझसम्म किसानको उखु अझै खरिद गर्न सुरु गरेका छैनन् ।
चिनी उद्योगीले उखुको मूल्य महंगो भएको भन्दै उखु खरिद गर्न नसकिएको र सरकारले उखुको उचित मुल्य तोकिदिनु पर्ने बताएका छन् ।
चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले ४ सय ७१ रुपैयाँ क्वीन्टलका दरले रहेको उखुको मुल्य धेरै महंगो भएकाले खरिद गर्न नसकिएको बताए ।
उनले बजारमा विदेशबाट आयात भएको चिनी विक्री भइरहेकाले आफुहरुले उत्पादन गरेको चिनी विक्री नभएको र उखुको मुल्य समेत धेरै महंगो भएकाले उखुको मुल्य खरिद गर्न नसकिएको बताए । ‘उखुको मुल्य प्रतिक्वीन्टल ४ सय ७१ रुपैयाँ रहेको छ । ढुवानी र अनुदान लगायतका सबै कुरा जोड्दा ५ सय ३६ रुपैयाँ पर्छ’ उनले भने, ‘सय केजी उखुबाट ९ केजी चिनी उत्पादन हुन्छ । १ केजी चिनी उत्पादन गर्दा ८७ रुपैयाँ लागत पर्छ, ।’
गत वर्ष सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ निर्धारण गरेको थियो । हाल किसानले सोही मुल्यमा उखुका विक्री गरिराखेका छन् । तर, चिनी उद्योगीले आफ्नो पुरानो चिनी विक्री नभएको र उखुको मुल्य अत्यन्तै महंगो भएका कारण उखु खरिद नगरेको बताउँदै आएका छन् ।
चिनीको उत्पादन लागत बढि हुने र उखु समेत महंगो भएपछि चिनी उद्योग सञ्चालन गर्न नसकिने चिनी उद्योगीहरु बताउँदै आएका छन् ।
उद्योगीले चिनी खरिद नगरेका कारण उखु किसानलाई मार्का पर्ने देखिएको छ ।
कार्तिक देखि नै खरिद सुरु हुनु पर्ने उखु दुई महिना वित्न लाग्दा समेत खरिद सुरु नगरेपछि उखु सुक्ने र उखु किसानलाई मार्का पर्ने देखिएको सांसदहरुले बताएका छन् ।
सांसद प्रकाश रसाइलीले उखुको मुल्यमा जहिल्यै किचलो हुने गरेको र सरकारले चिनी तथा उखुको मुल्य तोक्ने विषयमा अध्ययन गरेर उपयुक्त मुल्य तोक्नु पर्ने बताए । ‘उखुको मुल्य तोक्ने विषयमा सरकारले गम्भीर अध्ययन गर्नु पर्छ । चिनीको मुल्य तोक्दा उद्योगीलाई कति फाइदा, किसानलाई कति फाइदा र उपभोक्ताले चिनी कति मुल्यमा पाउँछन् भन्ने विश्लेषण सरकारले गरेको छ कि छैन?’ उनले प्रश्न गर्दै भने, ‘उद्योगीले उद्योग चालउन सकिँदैन भन्छन् । सरकारले हचुवाको भरमा उखुको मुल्य तोकिदिन्छ र उपभोक्ताले चिनीको मुल्य चर्को तिर्नु पर्ने आवस्था छ, ।’
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले चिनी उद्योगीहरुले आफुनो उत्पादन बाहेक विदेशबाट समेत चिनीको आयात गरेर विक्री गरिरहका भन्दै चिनी उद्योग सञ्चालनमा नआउने समस्या उद्योगीबाट नै सिर्जना भएको बताए ।
उपभोक्ता, किसान र चिनी उद्योगी सबैका समस्या सामाधान गर्नु पर्ने भएकाले उखुको मुल्य निर्धारण गर्ने कुरन जटिल बनेको मन्त्री यादवको भनाई थियो ।
मन्त्री यादवले कैलाली र कन्चनपुरका चिनी उद्योगीले उखु खरिद गरिसकेको भन्दै उताको किसान र उद्योगी इमान्दार रहेको बताए ।
नवलपरासी देखि पूर्वतिरका उखु किसान र चिनी उद्योगीले वाइयात लफडा सिर्जना गरेको यादवले बताए । ‘कैलाली, कन्चनपुरका किसान र उद्योगी दुवै खुसी छन्’ उनले भने, ‘नवलपरासी भन्दा पूर्वतिरका उद्योगी र किसानको जस्तो लफडा पश्चिम तिर छैन, ।’
उखुको मुल्य तोक्ने विषय दुई तीन दिन भित्रै मन्त्रीपरिषदमा पेश गरिने मन्त्री यादवको भनाई थियो ।