काठमाडौँ, २४ फागुन - राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति निकाल्दै झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएको घटना दुःखद् भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग मागगरेकी छन् ।
विज्ञप्तिमा मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा घाइते भएका सर्वसाधारण उपचारको व्यवस्था मिलाउन समेत सरकारसँग आग्रह गरिएको छ । आयोगले झडपको क्रममा घाइते भएका तथा मृतकको अवस्था सम्बन्धमा तथ्यहरु सङ्कलन गर्न आयोगले क्षेत्रीय कार्यालय विराटनगरबाट अनुगमन टोली आजै परिचालन गरेको जनाइएको छ ।
विज्ञप्तिमा आयोगले कुनैपनि राजनीतिक दलले आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्दा हदैसम्मको संयमता अपनाउनसमेत आग्रह गरेको छ ।