२४ जेठ २०८३, आइतबार

रेशमको शपथले सरकारसँग राजपाको सम्बन्ध सुध्रिएला ?

रेशमको शपथले सरकारसँग राजपाको सम्बन्ध सुध्रिएला ?

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा)ले टीकापुर हत्याकाण्डको आरोपमा मुछिएका सांसद रेशम चौधरीको शपथले सरकारसँगको सम्बन्धमा कुनै प्रगति नभएको जनाएको छ ।

लोकान्तरसँग कुरा गर्दै राजपा अध्यक्षमण्डलका एक सदस्य अनिल कुमार झाले पहिल्यै गराउनु पर्ने शपथ ग्रहण एक वर्ष ढिलो गराएको भन्दै यसले सरकारलाई हेर्ने राजपाको दृष्टिकोण परिवर्तन गर्न नसक्ने बताएका हुन् ।

‘केही नभएको भन्न मिल्दैन तर यो नै राजपाको बटमलाइन थियो भन्न पनि मिल्दैन’ झाले भने, ‘सरकारलाई राजपाले दिएको समर्थन फिर्ता लिने नलिने विषयमा अझै पनि आन्तरिक छलफल चलिरहेको छ ।’

मधेस आन्दोलनताका उठेका मागहरू सरकारले पूर्ण रूपमा सम्बोधन नगरुन्जेल सरकारसँग राजपाको सम्बन्ध यहाँ भन्दा राम्रो हुन नसक्ने झाको जिकिर छ ।

रेशम चौधरीलाई जेलबाट ल्याएर शपथ ग्रहण पश्चात पुनः जेल पठाउनु व्यावहारिक रूपले उपयुक्त नभएको भन्दै झाले भने, ‘रेशम चौधरीले सांसद भएको प्रमाणपत्र पाउनुले वहाँलाई जिताएका जनतामाथि न्याय गरेको छ, अब संसद विघटन भइहाल्यो भनेपनि रेशम पूर्वसांसद हुनुहुने भयो ।’ यद्यपि रेशम चौधरीको शपथ ग्रहणले पार्टीभित्र खुसीको संचार गराएको झाको भनाइ छ ।

सरकारमा सहभागी हुने नहुने विवाद

सरकारलाई समर्थन गरेको राजपाभित्र सरकारमा सहभागी हुने र नहुने विवाद कायम छ । अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो सरकारमा जाने पक्षमा रहेको र पूर्व संयोजक महन्थ ठाकूर कुनै हालतमा सरकारमा सहभागी नहुने पक्षमा रहेका स्रोतको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिमण्डल पुनर्गठन हुनुपर्ने विषयले प्रवेश पाएपछि सरकारमा सहभागी हुनुपर्छ भन्ने पक्षका राजपाका नेताहरू खुसी भएका छन् । तर झा भने यसलाई अस्वीकार गर्छन् ।

‘संविधान संशोधन लगायत हामीले राखेका अन्य मागहरू पूरा नभएसम्म राजपा कुनै पनि हालतमा सरकारमा सहभागी हुँदैन’ झाले भने ‘मन्त्रिमण्डल पुनर्गठन हुने नहुने विषय प्रधानमन्त्रीको हातमा रहेको छ, त्यो राजपालाई सरकारमा जान मन लाग्यो भने पुनर्गठन हुने नत्र नहुने विषय होइन ।’
 

salt training

कमेन्ट गर्नुहोस्