
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीवार प्रदेश नम्बर ४ को प्रादेशिक कार्यालय आफ्नै सुविधासम्पन्न भवन पोखराको सिमलचौरमा स्थापना गरेको छ ।
नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी ३ तहमा हुने व्यवस्था गरेको छ । यी ३ तहको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो ।
कार्यालयको आरम्भ समारोहमा प्रदेश नम्बर ४ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदेश नम्बर ४ अन्तर्गत बैंकका ५ वटा शाखाहरू ( बागलुंग, बेनी, चामे, पोखराको न्यूरोड तथा सिमलचौर) बाट व्यापार बिस्तारका साथसाथै शाखासँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटोछरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । प्रदेश नम्बर ४ मा रहेका ११ जिल्ला मध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । प्रदेशमा बैंकले करीव १७ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करीब ४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
