३१ जेठ २०८३, आइतबार

पार्टी कब्जा गर्न लागेको भन्दै पीडादायी आरोप लगाइयो –सूर्यराज आचार्य

पुस २०, २०७५
पार्टी कब्जा गर्न लागेको भन्दै पीडादायी आरोप लगाइयो –सूर्यराज आचार्य

नेपालको राजनीतिक इतिहासमा वैकल्पिक विचारधारा निर्माण गरिरहेको भन्ने ठानिएको एउटा पार्टी विवेकशील साझा आन्तरिक विवादमा रुमल्लिएको छ । उज्ज्वल थापा अध्यक्ष रहेको विवेकशील र पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर ‘विवेकशील साझा पार्टी’ बनेको डेढ वर्ष नवित्दै आन्तरिक किचलोमा फसेको हो ।

गत वर्षसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राम्रै मत प्राप्त गरेको पार्टी निर्माणकै चरणमा देखिएको विवादले कार्यकर्ता र शुभेच्छुकहरू अन्यौलमा परेका छन् ।

एकतापछि दुई जना संयोजक रहेको विवेकशील साझा पार्टीका एक संयोजक उज्ज्वल थापाले अर्का संयोजक रविन्द्र मिश्रमाथि पार्टी कब्जा गरेको आरोप लगाएका छन् । 

केही दिन पहिला राजनीतिक प्रतिवेदन मार्फत संयोजक थापाले अर्का संयोजक मिश्रमाथि पार्टीलाई उल्टो दिशा तर्फ लैजान खोजेको आरोप लगाएका हुन् । 

अरू पार्टीमा जस्तै विवेकशील साझा पार्टीभित्र पनि विवादको सृजना भएको जुन कुरा सञ्चारमाध्यममा आइरहेका छन्, लोकतान्त्रिक पद्दतिमा यस्ता विषयहरु अस्वभाविक होइन

आफूलाई वैकल्पिक शक्ति र सुसंस्कृत राजनीतिको अभियन्ता दल मान्ने विवेकशील साझा पार्टी भित्र अन्य राजनीतिक दलको जस्तो आरोप प्रत्यारोप चल्नुले पार्टी फूटसम्मका आशंकाहरू जन्माएका छन् । 

पार्टी भित्र चुलिएको विवाद र संयोजक थापाले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनका बारेमा हामीले विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यसँग कुराकानी गरेका छौं । 

पार्टी प्रवक्ताको रुपमा नभइ आचार्यले पार्टीमा देखिएको समस्याबारे आफ्नो नीजि धारणा लोकान्तरसँग खुलेर राखेका छन् । 

विवादबाट नेता कार्यकर्ता तर्सनु पर्दैन 

सबैभन्दा पहिला हामीले वैकल्पिक राजनीतिको संवाहक हुने पार्टी निर्माण गर्दैछौं । लामो इतिहास भएका, लामो संघर्ष भएका, पटक पटक व्यवस्था परिवर्तन गर्न योगदान गरेका, संविधान परिवर्तन गरेका पार्टीहरूको बीचबाट सभ्य र सुसंस्कृत राजनीतिको थालनी गर्ने प्रयास गरिरहेका छौं । 

लामो संघर्ष र त्यागपछि सत्ताको बागडोर सम्हान पुगेका अन्य राजनीतिक दलहरुले अहिले जनताका विकास, समृद्धि र सुशासनका आकांक्षाहरू पूरा गर्ने त कुरै छोडौं, हुँदा हुँदा न्यूनतम मूल्य मान्यता तोडेर अघि बढिरहेका छन् । 

वहाँले वैधानिक कमिटीहरूलाई छलेर आम सदस्य र शुभेच्छुक पंक्तिमा अन्यौल छर्ने गरेर आफ्नै कमजोरीहरू छताछुल्ल गर्नुभयो, त्यो कार्यविधि अत्यन्तै अवान्छित छ र त्यो कार्य एउटा वैकल्पिक शक्ति बन्ने अपेक्षा गरिरहेको पार्टीको शीर्षस्थ तहमा रहेकाहरूको राजनीतिक परिपक्वता होइन

यसले राजनीतिप्रति,राज्यप्रति र सरकारप्रति नागरिकको विश्वास नै धरासायी बनाएको छ । त्यो परिप्रेक्षमा हामीले सुसंस्कृत राजनीतिको थालनी गर्न खोजेका हौँ । हामीले प्रभावकारी र जनताको आकांक्षा जोड्न सक्ने नयाँ राजनीतिक शुरुवात गर्न खोजेका हौँ ।

अरू पार्टीमा जस्तै विवेकशील साझा पार्टीभित्र पनि विवादको सृजना भएको जुन कुरा सञ्चारमाध्यममा आइरहेका छन्, लोकतान्त्रिक पद्दतिमा यस्ता विषयहरु अस्वभाविक होइन । लोकतान्त्रिक पार्टीभित्र एउटै विषयलाई फरक फरक कोणबाट बहस गरिनु अन्यथा होइन । महत्त्वपूर्ण कुरा के हो भने त्यस्ता फरक सोचमा संलग्न हुने चाहे नेता होस् चाहे सदस्य होस् उसले वैकल्पिक राजनीतिको दर्शन र मूल कार्यभारप्रति प्रतिबद्ध हुनैपर्छ ।

वैकल्पिक राजनीतिका न्यूनतम आचार संहिता 

राजनीतिलाई पेशा बनाउनु भएन, राजनीतिमा लागेपछि पद र भागबन्डामा स्वार्थ देखाउनु भएन, सत्तामा पुगेपछि राज्य कोषलाई दोहन गर्नुभएन, राज्यलाई सबल बनाउनु पर्यो अनि जनतालाई सेवा र सुविधा दिनुपर्यो, यी वैकल्पिक राजनीतिको न्यूनतम आचारसंहिता हुन् ।

वैकल्पिक राजनीतिको संवाहक बन्न खोजेको विवेकशील साझाजस्तो पार्टीमा जोडिने माथिल्लो नेतृत्वदेखि तल्लो पंक्तिसम्म यसमा स्पष्ट हुनुपर्यो र प्रतिबद्ध हुनुपर्यो । नेताभन्दा माथि विधि र पद्धति हुनुपर्यो ।

विवेकशील साझा भित्रका बहस विधि र पद्धति भित्र भयो भने निकास निस्किन्छ, तर विधि र पद्धति भन्दा बाहिर व्यक्तिगत स्वच्छन्दताको आधारमा बहस हुन थाल्यो भने अराजक बन्न जान्छ । यस्तो शैलीले वैकल्पिक राजनीतिको कार्यभार बोक्न सक्दैन ।

विधि र पद्धति उल्लङ्घन गरेकै कारणबाट लामो संघर्षका इतिहास बोकेका पार्टीहरू अहिले छि छि दूर् दूर् को स्थितिमा छन् । हामीले त्यसबाट पाठ सिक्नुपर्छ ।

त्यसैले यस्ता सानातिना विवादबाट हामी तर्सिनु पर्दैन, यदप् हामीले विधि र पद्धतिभित्र यसको समाधान खोज्यौं भने सकारात्मक दिशा लिन्छौं र हामी त्यही बाटोमा छौं ।

उज्ज्वल थापाको राजनीतिक प्रतिवेदन विधिसम्मत छैन 

म सार्वजनिक रूपमै भन्न सक्छु, उज्ज्वल थापाको लिखित दस्तावेज जसरि सार्वजनिक भयो,जसरि एकै चोटी मिडियाको चासो बन्न पुग्यो, त्यो बिल्कुलै हाम्रो पार्टीको विधि र पद्धति अनुकूल छैन । त्यसमा भएका अन्तरवस्तु र कतिपय कुराहरू सान्दर्भिक पनि छन्, कतिपय गलत व्याख्या गरिएका छन्, कतिपय सरासर झुट पनि छन् । ति विषयहरूमा हामी केन्द्रीय कमिटीको बैठकमा विस्तृतमा छलफल र समीक्षा गरौंला ।

साथीहरू क्रियाशील हुन थाले भने आफू छाँयामा परिन्छ कि भने डराउनेहरूले पार्टी बनाउँछन् ? त्यसकारण अर्काको छाँयामा पर्ने भएँ, अरू बढी मिडियामा देखियो, म मिडियामा आउन पाइन भन्नेहरूले पार्टी बनाउन सक्दैनन्

तर त्यति हुँदाहुँदै पनि ति सबै विषयहरू मजासँग पार्टीको आन्तरिक बडीमा छलफल हुन नसक्नु दुखदायी कुरा हो । उज्ज्वलजी सँगै अर्का संयोजक हुनुहुन्छ, रविन्द्र मिश्र । या त वहाँहरूबीच छलफल भएको भए हुन्थ्यो । उज्ज्वलजी को सबभन्दा नजिकको मित्र त रविन्द्र मिश्र हो ।

वहाँहरूबीच कुरा नमिलेको रैछ भने ८ जनाको संयोजन समिति छ त्यहाँ छलफल भएको हुनुपर्यो । होइन, पार्टीको हीतमा मैले राम्रै कुरा गर्न खोजेको थिएँ तर रविन्द्रजी ले मन पराउनु भएन भनेर केन्द्रीय कमिटी र अन्य कमिटीमा छलफलमा लागेको भएपनि हुन्थ्यो । हामी थियौं हामीसँग भनेको भए हुन्थ्यो । उज्ज्वलजीले प्रतिवेदनमा लेखेका कतिपय कुराहरू त मैले पनि भन्दै आइरहेको कुरा हो ।

त्यसैले वहाँले वैधानिक कमिटीहरूलाई छलेर आम सदस्य र शुभेच्छुक पंक्तिमा अन्यौल छर्ने गरेर आफ्नै कमजोरीहरू छताछुल्ल गर्नुभयो, त्यो कार्यविधि अत्यन्तै अवान्छित छ र त्यो कार्य एउटा वैकल्पिक शक्ति बन्ने अपेक्षा गरिरहेको पार्टीको शीर्षस्थ तहमा रहेकाहरूको राजनीतिक परिपक्वता होइन ।

विगतको समीक्षा 

दुई तीन महिना अघि शुरू गरिएको पार्टीको राजनीतिक अभियानको क्रम सकेर हामी भर्खर जिल्लाबाट फर्केका छौं र म के कुरामा उत्साहित भएँ भने जिल्ला तहमा मैले भेटेका कतिपय नेता कार्यकर्ताहरू केन्द्रमा रहेका कतिपय नेताहरूभन्दा सक्षम छन् । उनीहरूको राजनीतिक सुझबुझ पनि बढी छ र पर्सनालिटी पनि त्यही अनुसारको देखिन्छ ।

अब ति साथीहरू क्रियाशील हुन थाले भने आफू छाँयामा परिन्छ कि भने डराउनेहरूले पार्टी बनाउँछन् ? त्यसकारण अर्काको छाँयामा पर्ने भएँ, अरू बढी मिडियामा देखियो, म मिडियामा आउन पाइन भन्नेहरूले पार्टी बनाउन सक्दैनन् । पार्टी आफूले धान्न नसक्ने हिसाबमा ठूलो हुँदै गयो भनेर डराउने प्रवृत्तिलाई राम्रो मान्न सकिंदैन । त्यो प्रवृत्तिको उपचार छैन ।

संयोजक पदमा रहनुभएको उज्जवल थापाले चुनावपछिको एक वर्षमा यतिका कुराहरू सार्वजनिक गर्नुभयो, ति कुराहरू पहिल्यै हामीलाई भन्दिएको भए हामी त्यही अनुसार काम गर्थ्यौं नि त ! वहाँले सार्वजनिक गर्नुभएको डकुमेन्टमा कहीं पनि मैले फलानो कुरा फलानो समितिमा औपचारिक रूपमा प्रस्ताव राखें र त्यो प्रस्तावलाई पेलियो भनेर भनिएको छैन ।

वहाँले विवेकशील साझा पार्टी केही व्यक्तिहरूको प्राइभेट कम्पनी भयो भनेर गम्भीर आरोप लगाउनु भएको छ । त्यो असाध्यै गम्भीर आरोप हो, यहाँभन्दा बढी म भन्न चाहन्न त्यस्तो किसिमले सुसंस्कृत राजनीति गर्न सकिंदैन ।

चुनावपछिको एक वर्षको समयमा हामीले आफ्नो पार्टीको मुहार जसरि फेर्नुपर्ने हो त्यो अनुसार भएको छैन । तर त्यसको सही कारण के हो भन्ने विषय अहिले मैले भन्दिन, त्यो छिट्टै औपचारिक रूपमा बाहिर आउनेछ ।

पार्टी नेतृत्वमा युवाहरूको भूमिका 

अन्य पार्टीका नेताहरू सबै एउटा स्कूलिङमा हुर्केका छन् र पनि वैचारिक मतभेद हुने गर्दछ । हामी चाहिँ फरक पृष्ठभूमिबाट आएका छौं फरक स्कूलिङ छ । फरक फरक स्कूलिङबाट आएकाहरूमा युवा होस् या बयोवृद्ध होस्,बैचारिक मतभेद हुने कुरा सामान्य हो तर त्यसलाई एउटै लयमा लैजानका लागि हाम्रो बढी मेहेनेत हुनुपर्छ ।

कब्जा गर्नुपर्ने पार्टी नै बनेको छैन, कब्जा कसरी गर्नु ? के कब्जा गर्नु ? के हो यो कब्जा गर्नु भनेको ? यस्ता आरोपहरू अत्यन्तै पीडादायी छन्

पार्टी निर्माणमा युवाहरूको भूमिका त छ नै तर मेरो ‘भ्यू’ अझ बढी युवामय र ‘एग्रेसिभ’ छ । मेरो मान्यता के होइन भने एउटा युवा राजनीतिमा लागेर युवाको नाममा अनन्तकालसम्म राजनीतिक लाभ लिइराखोस् । अहिले लाग्ने गरेका आम आरोपहरू जस्तै, युवाहरूलाई सिमान्तकृत गरियो, युवाहरूलाई पाखा लगाइयो भन्ने आरोपहरू बेइमान आरोपहरू हुन् । यो सोच युवाहरूलाई ठाउँ दिनुपर्छ भन्ने सोच होइन, यो त कब्जा गर्नुपर्छ भन्ने सोच हो ।

युवाहरूलाई आकर्षित गर्ने, नेतृत्वमा ल्याउने खालको शैली त अहिले पनि हामीले अपनाइरहेका छौं । तर एकोहोरो युवाले ठाउँ पाएनन् भएर बोलिरहनु ठीक होइन । आवश्यकता र क्षमताका आधारमा पार्टीभित्र सबैले आफ्नो उचित स्थान प्राप्त गर्नुपर्छ ।

जनताले हामीबाट आशा गरिरहेका छन्

पार्टी स्थापनाको छोटो समयमा नै निर्वाचनमा हामीले प्राप्त गरेको उपलब्धिको आधारमा हामीलाई जनताले आशा गरिरहेका छन् । यस्तो अवस्थामा एकबद्ध भएर जानुपर्छ । जनताको आशालाई विश्वासमा बदल्नुपर्छ । ‘मेरो र तेरो मान्छे’ भन्दै बहसमा उत्रिएर अरूलाई पार्टी कब्जा गरेको आरोप लगाउनुले नेतृत्वमा रहेका संयोजक उज्ज्वल थापाको राजनीतिक दृष्टिकोणमाथि प्रश्न उठाएको छ ।

कब्जा गर्नुपर्ने पार्टी नै बनेको छैन, कब्जा कसरी गर्नु ? के कब्जा गर्नु ? के हो यो कब्जा गर्नु भनेको ? यस्ता आरोपहरू अत्यन्तै पीडादायी छन् । कमसेकम मैले जुन हिसाबले यो पार्टीलाई युवाहरूको प्लेटफर्म बनाउन लागिपरेको छु र पार्टी ‘टेकअफ’ भइसकेपछि युवाहरूलाई छोडौं भनेर लागिरहेको छु त्यो बुझ्नुपर्थ्यो । भोलि पार्टी सत्तामा जाला र म मन्त्री बनुला भनेर मैले पार्टी बनाएको होइन ।

विवेकशील साझा पार्टीप्रति जनताले देखाएको उत्साहलाई शक्तिमा बदल्नुपर्छ । यसरी आन्तरिक विवाद छताछुल्ल पारेर पार्टीपंक्ति र शुभेच्छुकहरूमा भयको सिर्जना गर्ने प्रवृत्ति ठीक होइन ।

salt training

कमेन्ट गर्नुहोस्