
काठमाडौं, १ पुस — उपत्यकामा आगलागी नियन्त्रणको लागि जुद्ध शमशेरले स्थापना गरेको जुद्ध वारुण यन्त्र बन्द हुने अवस्थामा पुगेको छ ।
काठमाडौं महानगरपालिका मातहतमा रहेको वारुण यन्त्र कर्मचारी अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
पानीको स्रोत, अग्नि नियन्त्रणका लागि सहज पहुँचको समस्या बेहोरिरहेको वारुण यन्त्रको कार्यालय बन्द हुने अवस्थामा पुगेको हो । काठमाडौंको हनुमानढोकामा रहेको उक्त वारुणयन्त्र पहिले गृह मन्त्रालय मातहतमा रहेको थियो ।
अहिले भने काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन शाखाको मातहतमा रहेको छ ।
वारुण यन्त्रका प्रमुख किशोरकुमार भट्टराईले तत्कालै कर्मचारीको व्यवस्थापन नभए आउँदो ६ महिनामा जुद्ध वारुण यन्त्रको कार्यालय बन्द हुने अवस्थामा पुगेको बताए ।
गृह मन्त्रालय मातहत रहेको भएपनि २०६७ सालदेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सो कार्यालयलाई स्थानान्तरण गरिएपछि कर्मचारीको अभाव भइरहेको हो । ‘तालिमप्राप्त मान्छेहरू पनि छैनन्, जनशक्ति पनि अत्यन्तै थोरै रहेको छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘कर्मचारी व्यवस्थापन नभएमा अबको पाँच महिनामा बन्द हुने अवस्था भइसकेको छ ।’ उनका अनुसार गृह मन्त्रालयले वारुणयन्त्रको कार्यालय हस्तान्तरण गर्दा १८ जना कर्मचारीको व्यवस्था गरेको थियो । केहीले अवकाश लिएकोले अहिले ११ जना कर्मचारी मात्रै वारुणयन्त्रको कार्यालयमा रहेका छन् ।
.jpg?1481869988137)
अहिले रहेका कर्मचारीहरू निकै पुराना भएकाले उनीहरूलाई तालिम दिन समेत गाह्रो भइरहेको उनले बताए । ‘राम्रो तालिम लिनको लागि पनि यहाँ भएका कर्मचारीहरूका आफ्नै समस्या छन्,’ उनले भने, ‘अहिले कर्मचारी राख्नको लागि महानगरपालिकामा पहल गरिरहेको छु ।’
गृह मन्त्रालयले कार्यालय हस्तान्तरणको समयमा २९ जना तालिमप्राप्त कर्मचारी मन्त्रालयको तर्फबाट उपलब्ध गराउने वचन दिएको थियो । तर अहिलेसम्म कर्मचारीहरूको व्यवस्थापन गरिएको छैन ।
भट्टराईका अनुसार अहिले १० वटा वारुणयन्त्रहरू कार्यालयमा रहेका छन् । हरेक यन्त्रका लागि सातजना तालिमप्राप्त कर्मचारी रहनुपर्ने मान्यता रहेको छ । त्यसका लागि ७० जना कर्मचारी चाहिन्छन् । भएकामध्ये १० प्रतिशतलाई बिदामा छोडिरहनुपर्ने मान्यता छ । साथै २४ घण्टा नै आठजना कर्मचारी ‘अलर्ट’ राख्नुपर्छ ।
‘९० जना कर्मचारी अहिलेको अवस्थामा चाहिन्छ,’ उनले भने, ‘तर अहिले ११ जना कर्मचारी मात्रै कार्यालयमा छौं । ह्याण्डल गर्ने अवस्था नै छैन ।’ उनले अबको ६ महिनामा वारुणयन्त्रको कार्यालयमा ताला लाग्ने अवस्था सिर्जना भइसकेको बताए ।
वारुणयन्त्रको तालुक निकाय महानगरपालिका भने कर्मचारी राख्ने गृहकार्य भइरहेकाले वारुणयन्त्र बन्द नहुने दाबी गर्छ ।
महानगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख इन्द्रमानसिंह सुवालले अहिले कर्मचारी कम भएको कारणले समस्या भइरहेको स्वीकारे । उनले कर्मचारी नियुक्तिको लागि आफूहरूले गृहकार्य गरिरहेको बताए ।
सुवालले विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूबाट तत्कालका लागि केही जनशक्ति माग्ने र दीर्घकालीन रूपमा नियुक्त गर्नको लागि प्रक्रिया अघि बढिरहेको बताए । ‘कर्मचारी अभावमा गाह्रो साह्रो भइरहेको भएपनि बन्द हुने अवस्था आउन नदिन महानगरपालिकाको कार्यालय सजग छ,’ प्रमुख सुवालले भने, ‘गृह मन्त्रालयले दिने भनेका कर्मचारीहरू पनि आफूहरूले अहिलेसम्म पाएको छैन ।’
कर्मचारी राख्नका लागि कार्यविधि र प्रक्रिया नपुगेकोले गृहबाट कर्मचारी माग्न र आफैंले राख्नपनि समस्या भइरहेको उनको भनाई छ ।