काठमाडौं–सामान्यतया ट्याटुमा विभिन्न चित्र र प्यारो व्यक्तिका नाम उतारिन्छ । तर पूर्वप्रहरी निरीक्षक सीताराम हाक्षेथुको हातमा भने फरक खालको ट्याटु छ । उनले नाडीमा बनाएको ट्याटुमा लेखिएको छ–ट्राफिक नियम पालना गरौं ।
२९ वर्ष प्रहरी सेवामा बिताएर हालै अवकास पाएका यी ‘सेलिब्रेटी ट्राफिक प्रहरी’ ले ट्राफिक नियमबारे सचेत गराउन नयाँ शैली अपनाएका हुन् ।
गत सातामात्रै उनले यस्तो ट्याटु बनाएका हुन् । ‘ट्राफिक नियमको पालनाको महत्व बुझाउन यस्तो ट्याटु बनाएका हुँ’, उनले भने, ‘ट्राफिक नियम पालनाको नारा सामान्य लाग्न सक्छ, तर यसबाट धेरैको ज्यान जोगाउन पनि सकिन्छ ।’
५३ वर्षको उमेरुमा टुयाटु बनाउन धेरै गाह्रो भयो उनलाई । तर प्रहरीको जागिर अवधिमा पूरैजसो समय सवारी व्यवस्थापनका लागि सडकमा बिताएका हाछेथुले अवकासपछि पनि आफू ट्राफिक सचेतनामा नै सक्रिय हुने इच्छाअनुसार पीडा रहेरै ट्याटु बनाउने निर्णय गरे । नया पत्रिका दैनिकमा हाछेथुबारे एक सामग्री छापिएको छ ।