काठमाडौं, २५ फागुन — अस्ट्रेलियामा यस वर्षको गर्मीले दुई सयभन्दा बढी मौसमसम्बन्धी कीर्तिमान तोडेको एक मौसम अध्ययन समूहले बताएको छ ।

द क्लाइमेट काउन्सिलले तयार पारेको प्रतिवेदन अनुसार यसपालीको गर्मीमा पूर्वी अस्ट्रलियामा तीव्र लू तथा झाडीमा आगलागीहरू अनि पश्चिमी अस्ट्रेलियामा भारी वर्षा र बाढीको स्थिति आएको थियो ।
जलवायु परिवर्तन अस्ट्रेलियाभरि महसूस गर्न थालिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
भविष्यमा अत्यधिक मागका कारण विद्युतीय सञ्जालहरू पनि दबाबमा पर्ने प्रतिवेदनले औंल्याएको छ । गर्मीमा जतिखेर पनि एसी र फ्यान चलाउनुपर्दा बिजुलीले धान्न नसक्ने देखिएको छ ।
यो वर्ष सिड्नी, ब्रिसबेन र क्यानबेरामा सर्वाधिक गर्मी भयो । न्यु साउथ वेल्सको मोरी नामक शहरमा लगातार ५४ दिनसम्म ३५ डिग्री सेल्सियसको तापक्रम रह्यो ।
एडिलेडमा विगत सत्तरी वर्षयताकै सर्वाधिक गर्मी (४१.३ डिग्री सेल्सियस) क्रिसमस रेकर्ड गरियो ।
तीन महिनाको अवधिमा कम्तीमा २०५ वटा कीर्तिमान तोडिएको उक्त स्वतन्त्र संस्थाले बतायो ।
प्रतिवेदनका प्रमुख लेखक विल स्टिफनले जलवायु परिवर्तनका कारण चर्को मौसम आएको बताए ।
बीबीसीबाट