
पोखरा– मनाङबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ गराउने वातावरण मिलाइदिन भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त भएका थिए ।
जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उनले एक साता अघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।
सपथ गराउन ढिलो भएको भन्दै उनले आज प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गरे । भेटपछि उनले आफ्नो मागमा सभामुख सकारात्मक रहेको बताए ।
मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री सपथका सम्बन्धमा केही नबोलेको बताइएको छ ।
रेशम चौधरीको रिहाईपछि अब मनाङेको पनि सपथ हुनुपर्ने बहस चलिरहेको बेला उनी मुख्यमन्त्री र सभामुखलाई भेट्न पुगेका हुन् ।