
रोल्पा–रोल्पाको लुंग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ गइरहेको ग १ ख ५५११ नम्बरको बस साँझ ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा २३ जना घाइते भएका छन्
दुर्घटनामा चालकसहित ११ महिने बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक प्युठान सारी–५ का २४ वर्षीय नमराज आले र लुंग्री–३ जुतुङखोलाका ११ वर्षीय नितेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई नेपालगञ्ज रिफर गरिएको छ । अन्यको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर उपचार भइरहेको छ । बस सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले बताएको छ। बस उकालेमा चिप्लीएर दु्र्घटना भएको रोल्पा प्रहरीले जनाएको छ ।