
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ । कांग्रेस संसदीय दलको मंगलबारको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसद्मा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको मन्तब्यमाथि प्रश्न राख्न नदिए आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि चल्न नदिने काँग्रेसको तयारी छ । प्रधानमन्त्रीको सम्बोधनमाथि प्रश्न गर्न नपाएर रुष्ट बनेको कांग्रेसले सरकारलाई काउण्टर दिन छायाँ सरकार गठनको तयारीमा जुटेको छ । बैठकले एक हप्ताभित्र छायाँ सरकार गठन गरिसक्ने निर्णय गरेको छ । कांग्रेसले छायाँ सरकार गठनका लागि मन्त्री बन्न ईच्छुकहरुको नाम समेत माग गरेको छ ।
सरकारलाई खबरदारी गर्न सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने भएको हो । पार्टी संसदीय दलको मंगलबारको बैठकले प्रधानमन्त्रीसहित राज्यका सबै मन्त्रालयको कामकारबाहीलाई नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको हो ।
कर्मचारी समायोजन: प्रदेश र स्थानीय तहमा बढी आकर्षण
कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तह कर्मचारीको आकर्षण बढ्दो छ । अब बन्ने संघीय निजामती सेवा ऐनमा कर्मचारीको वृद्धि विकासको बाटो खुल्ने भएपछि शाखा अधिकृतदेखि तलको कर्मचारीको आकर्षण प्रदेश र स्थानीय तहमा बढेको हो ।
‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको एक तह बढुवा हुने र सङ्घमा रहेका कर्मचारीसरह सेवासुविधा पाउने भएकाले तल्लो तहमा कर्मचारीको आकर्षण बढेको हो । यसअघि सरकारले सङ्घमा मात्र रहने कर्मचारीलाई अवसर र वृद्धि विकासको अवसर दिने भनेको थियो । पछि बन्न थालेको निजामती सेवा ऐनमा सरकारले प्रदेश र स्थानीय तहलाई पनि सो अवसर उपलब्ध गराउने बताएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, समायोजन महाशाखा प्रमुख केदारप्रसाद पनेरुका अनुसार समायोजन रोजेका २१ हजार ९८४ कर्मचारीमध्ये धेरैले स्थानीय र प्रदेश तहमा फारम भरेका छन् । मन्त्रालयले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी स्वीकृत गरी समायोजन गर्दैछन् ।
बाह्र लाखले नेपाल भ्रमण गरे
सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो वर्ष ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो ।
हवाईमार्गबाट नौ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको बोर्डले जनाएको छ । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले वृद्घि भई कूल आगमन दुई लाख ४८३ पुगेको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटक अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्घि भई ९१ हजार ७८५ पुगेको छ ।
प्रदेश नं ५ का दुईसहित पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र
सङ्घीय सरकारले पहिलो चरणमा प्रदेश नं ५ का कपिलवस्तु र गुल्मीसहित देशभरका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार चालु आवमा देसका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने नीतिअनुरुप पहिलो चरणमा बृहत अभियान शुरु गर्न लागिएको हो ।
विभागको आयोजनामा मंगलबार बुटवलमा भएको सरोकारवाला निकायसँगको अन्तरक्रियामा विभागका महानिर्देशक दीपक काफ्लेले राष्ट्रिय परिचय पत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरणमा आव २०७५÷७६ को सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीलाई बायोमेट्रिक सूचना र पृथक नम्बरसहित परिचय पत्र उपलब्ध गराइने भन्ने व्यवस्था गरिएको जानकारी दिए ।
मलेसियामा रोजगारी खुल्न अझै दुई महिना लाग्ने
मलेसियामा नेपाली कामदार लिने सम्बन्धी नीति टुँगिन अझै दुई महिना लाग्ने भएको छ । विदेशी कामदार लिने सम्वन्धि नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले यसका लागि अझै दुई महिना लाग्ने बताएको हो ।
मलेसियाको अनलाइन द सनका अनुसार कार्यदलले विदेशी कामदार लिने पूर्ण रिपोर्ट दुई महिनाभित्रमा सरकारलाई बुझाउने भएको छ । मानव संशाधन राज्यमन्त्री महफुज ओमारले हाल रिपोर्ट छलफलकै क्रममा रहेको भन्दै विदेशी कामदार सोही रिपोर्टका आधारमा लिइने बताए । गएको जेठ महिनामा नेपाल सरकारले मलेसिया जाने नेपाली श्रमिक धेरै आर्थिक ठगिमा परेको भन्दै सो प्रकृयामा संलग्न रहेका संस्थाहरुलाई अवैधानिक ठहर गर्दैै बन्द गरिदिएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा सूक्ष्म अध्ययन गर्न निर्देशन
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनामा प्राविधिक परीक्षण गरी गुणस्तरको सूक्ष्म अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा भइरहेका ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलगायत विषयमा मंगलबार समितिको बैठकमा भएको छलफलपछि सभापति कल्याणीकुमारी खड्काले प्राविधिक परीक्षणको प्रतिवेदन छिटो पेश गर्न ती निकायलाई निर्देशन दिएकी हुन् ।
आगलागीमा परी तीन बालबालिकाको मृत्यु
गोठमा भएको आगलागीमा परी बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको मृत्यु भएको छ । मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए ।
यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो । आगलागीबाट गोठमा पूर्ण रूपमा क्षति पुगेको छ ।
नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी
गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा आज साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए । साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका छन् ।
अन्तिम खेलमा मनाङ पराजित
मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ । लिगअन्तर्गत मंगलबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ फ्रेण्डस क्लबसँग १–० गोलले पराजित भएको हो ।
खेलमा पराजित भए पनि मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । फ्रेण्डसको जीतमा विकास लामाले इञ्जुरी समयमा गोल गरे । ‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो ।
यसैगरी हिजै हल्चोक मैदानमा भएको अन्तिम चरणको खेलमा ब्रिगेड ब्वाइज र एनआरटी क्लबले बराबरी खेलेका छन् । हलचोक मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । ब्रिगेड ब्वाइज नौ अङ्कसहित तालिकाको एघारौँ स्थानमा रह्यो भने एनआरटी छ अङ्क जोड्दै तालिकाको पुछारमा रहेर लिगको अन्त्य गरेको छ ।
मनाङको कीर्तिमानी, आठौँ पटक लिग च्याम्पियन
मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ । यसअघि मनाङले २०४२–०४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो ।
मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो । मनाङले लिगको अन्तिम खेलमा भने मंगलबार फ्रेन्ड्ससँग पराजित भयो । दुई खेल अगावै च्याम्पियन बनेको मनाङले लिग समाप्तिसँगै उपाधि उचालेको हो ।
मनाङले उपाधिसँगै रु ५० लाख पनि प्राप्त गरेको छ । लिगको उपविजेता सङ्कटा क्लबले रु ३५ लाख तथा तेस्रो स्थानको थ्री स्टारले रु २५ लाख प्राप्त गरेको छ ।