
इलाम– स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले बुधबारदेखि इलाममा १६ औं सत्याग्रह गर्ने जनाएका छन् । संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरूप राज्यसँग भएको सहमति लत्याएको भन्दै सत्याग्रह गर्ने उनले जनाएका हुन् ।
मंगलबार सदरमुकाममा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही भ्रष्टाचार र कुशासनविरुद्ध हुने चेतावनी दिए । डा. केसीले उपसमितिको सिफारिस पुनरावलोकन गर्दै आफूहरूसँग भएका सहमति सरकारले अक्षरशः पालना गर्नुपर्ने धारणा राखे ।
सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर संसदीय उपसमितिले २ दिनको समय माग गरपछि उनले ७ दिनको समय दिएका थिए । यो अवधिमा पनि माग पूरा नभएको भन्दै पुनः सत्याग्रहका लागि उनी बुधबार नै इलाम आएका हुन् ।