काठमाडौं– कानुनी शिक्षा प्रदान गर्ने एक उत्कृष्ट शैक्षिक संस्था ‘काठमाडौं स्कुल अफ ल’ ले आफ्नो वार्षिक उत्सवको अवसरमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहन प्रकाश सिटौलालाई प्रोफेसनल एचिभमेन्ट केएसएल अवार्ड प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।
यस्तै एलुम्नस एचिभमेन्ट अवार्ड अधिवक्ता नारायण चौलागाईं र उपसचिव अरुणा जोशीलाई प्रदान गरिएको छ । केएसएलबाट उत्पादित ग्रयाजुएटलाई दिइने यो पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ ।
यस्तै २५ हजार राशिको आउटस्टान्सिङ्ग प्रफरमेन्स अवार्ड पाँचौ बर्षको बिए एलएलबी उत्तीर्ण गर्ने उत्कृष्ट विद्यार्थी दिपिका गजुरेल र अनुजा शर्मालाई दिइएको छ ।
२०५६ पौष २१ का दिन स्थापना भएको काठमाडौं स्कुल अफ ल नेपालमा अनुसन्धानमूलक कानुनी शिक्षा प्रदान गर्ने एक उत्कृष्ट शैक्षिक संस्था हो । संस्थाले क्लिनिकल लिगल एजुकेशन कार्यक्रम मार्फत आफ्नो सामाजिक दायित्वलाई नेपाली समुदायको जरैसम्म विस्तारित गरेको जनाएको छ । साथै संस्थाले जन्माएको कानुनी पेशामा संलग्न पेशेवर र उत्कृष्ट विद्यार्थीको पहिचान मार्फत नैतिक पेशागत आचारनीतिलाई समेत प्रवर्द्धन गर्दै आएको जनाएको छ ।
वार्षिक उत्सव कार्यक्रममा प्रा. माधव प्रसाद आचार्य, पूर्व सभामुख एवं नेकपाका नेता सुवास नेम्वाङ्ग, पूर्व मन्त्री तथा महान्यायाधिवक्ता अग्नी खरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर के.सी., वरिष्ठ संगीतकार
दिपक जंगम, पूर्व मन्त्री महेश बस्नेत, मोर्डन स्कुल भक्तपुरका प्रधानाध्यापक अनिल कस्पाल लगायतको उपस्थिति रहेको थियो ।