२२ जेठ २०८३, शुक्रबार

'मगर वा थारुका होइन, गिट्टी बोक्ने र हलो जोत्नेको संगठन बन्नुपर्छ '

कात्तिक २०, २०७४
'मगर वा थारुका होइन, गिट्टी बोक्ने र हलो जोत्नेको संगठन बन्नुपर्छ '
नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भए । लोकतन्त्र आयो, गणतन्त्र आयो । सामान्य जनताका छोराछोरी राष्ट्रपति भए । संविधान जारी भयो । यति गर्दापनि केही भएन भन्नु अनुचित हुन्छ । धेरै भएको छ । यति हुँदाहुँदै पनि जति हुनुपथ्र्यो त्यति हुन नसकेको यथार्थ हो । प्रायः नेताहरूकै कारण देश बर्बाद भयो,

नेपालले प्रगति गर्न सकेन भनेर नेताहरूलाई दोष दिने चलन छ । देश चलाउने नेता भएकोले नेतालाई गाली नगेर कसलाई गरून् ?  नाकाबन्दीकै समयमा कालोबजारी रोक्न सकेन भनेर सरकारमै बस्नेहरूले नै सरकारको गाली गरेको सुन्थें । पाँचसय रुपैयाँ लिटरमा पेट्रोल किने र गाडी चढ्ने तर राज्यले कालोबजारी रोक्न नसकेको भनेर आलोचना ग-यौँ तपाइँ हामीमध्ये कतिपयले । हामीले पनि न्यायका वा अधिकारका कुरागर्दा कर्तव्य कदापि भुल्नु हुँदैन ।

जनताकै लागि, देशकै लागि भन्ने नेता कम भए । कतिपय नेताहरू देशको लागि कम्मर कसेर लागेका छन्, त्यस्ता नेता अलि धेरै भएको भए देशको छिटो विकास हुन्थ्यो । अहिले त राजनीतिलाई पेशा व्यवसायको रूपमा अगाडि बढाएको मैले बुझेकी छु । देशकै लागि भनेर भित्री इच्छाशक्तिका साथ काम गर्नेलाई काम गर्न दिइएन ।

केपी ओलीले चुट्किला भन्नुभयो होला तर थुप्रै राम्रा काम पनि गर्नुभएको छ । राम्रो कामको कहीँ प्रशंसा छैन, एउटा गल्ती भयो भने उसका विरुद्ध ज्यान छाडेर विरोधमा लाग्ने प्रचलन भयो । काम गर्ने मान्छेलाई हौसला चाहिन्छ । मैले काम गरेको छु भने मलाइ जहिले पनि गाली गर्दा जाँगर लाग्दैन नि । जनता र देशको लागि काम गर्न खोजेको छ भने सबै दलले समर्थन गर्नुपर्छ ।

राम्रो काम गर्न थाल्यो भने, पार्टी लोकप्रिय हुन थाल्यो भने खुट्टा तान्ने प्रवृत्तिका कारण पनि हामीले सोचेको विकास र समृद्धि हुन सकेन । यसमा नेताको मात्र होइन जनताको पनि दायित्व छ, नेताहरूलाई चोर,फटाहा ढाँट के–के भनेर गाली गर्ने तर आफ्नो दायित्व चाहिँ बिर्सने ? नेतालाई भ्रष्टाचारी भनेर गाली गरेको सुन्छु, घुस नदिने हो भने कसरी भ्रष्टाचार हुन्छ ? जनताबाट चुनिएर न नेता हुने हो । चुनिएर माथि पुगेपछि भने आफ्नो दायित्व बिर्सनु हुँदैन । जनता र नेताको सम्बन्ध नङ–मासुको हुनुपर्नेमा सर्प र बिच्छी जस्तो पो भएको देखिन्छ ।

देश बनाउने भनेको नेताले मात्र होइन कर्मचारीले पनि हो । त्यसैले कर्मचारीतन्त्रलाई पनि सुधार गर्नुपर्छ । यहाँ कतिपय कर्मचारीले नेतालाई फन्फनी घुमाइदिन्छन् । यसरी कहिले देश बन्छ ? फेसबुक र ट्वीटरमा अरुलाई गाली गर्दा रमाउने तर आफूलाई बलवान सम्झने प्रवृत्ति छ । नकारात्मक सोचमा रमाउने मानिसको जमात पनि छ । मचाहिँ भन्छु, हरेक कुरालाई सकारात्मक ढंगले सोच्नु पर्छ । सुशील कोइरालाले संविधान बनाउनुभयो, केपी ओलीले चर्को सङ्कटको समयमा देशलाई पार लगाउनु भयो । यसलाई सकारात्मक रुपमा हेरौँ न ।

गणतन्त्रको फल किन लागेन?

गणतन्त्र आएपछि केही पनि भएको छैन भन्न मिल्दैन । डाँडाकाँडामा चारवटा मात्र घर भएको ठाउँमा पनि सडक पुगेको छ । पहिला फोन गर्न घण्टौँ हिँड्नुपथ्र्यो, अहिले बाख्रा–गोठालाले पनि फोन बोकेको देख्छु । तरकारी बेच्ने मानिस वा हलो जोत्नेले पनि मोबाइल फोन बोकेको छ । यिनै कुरालाई हेर्दा केहीपनि विकास भएको छैन भन्न मिल्दैन । कतिपय कानूनी कुरा कार्यान्वयन हुन नसकेकोसम्म हो ।

हिजोको दिनमा म आफँै १८ बर्षसम्म अरुको घरमा ‘कमलरी’ बसें । अहिले म यो स्थानमा छु । यसलाई पनि सकारात्मक रुपमा लिनुपर्ला । हिजो वषौँवर्ष कमैया र दासका रुपमा रहेकाहरू कतिपय मुक्त भएका छन् भने कतिपय अझैं पुनस्थापित भएका छैनन् । तर पनि मुक्त भए नि ! आज यो देशमा दलितमाथिको भेद्भाव पनि क्रमिक रूपमा रोकिएको छ । यो पनि परिवर्तन हो । दाइजो प्रथाको पनि कानूनी रुपमा अन्त्य भएको छ । बोक्सीका नाममा महिलालाई यातना दिने कामको पनि एक हदसम्म अन्त्य भएको छ ।

वर्गीय मुद्दा

जनताको जीवनस्तरमा सुधार आउन नसकेको भने पक्कै हो । मेरो विचारमा यो देशको सबभन्दा ठूलो मुद्दा वर्गीय मुद्दा हो । म महिला हुँ । महिला हुनुको पीडा छ मसँग । म आदिवासी/जनजाति/थारू हुँ, थारु हुनको पीडा छ मसँग । वर्गीय समस्याको समाधान नभई कुनैपनि समस्याको समाधान हुन सक्दैन । अस्ति म एउटा कार्यक्रममा गएकी थिएँ । मलाई थारू नेताहरूले समेत जनजातिविरोधी हो भनेर राम्रोसँग बोल्न चाहनुभएन । थारूहरू जहिले पनि एउटा जातको वा क्षेत्रको नेता बन्ने हो त ? हामीलाई राज्यले उपेक्षा ग¥यो, राज्यले शोषण ग¥यो भनेर भनिराख्ने तर हामीचाहिँ राष्ट्रिय नेता हुन अघि नसर्ने ? जस्तो शान्ता चौधरी थारुकै मात्र नेता बन्ने ?

रुकमणि चौधरी क्षेत्रकै मात्र नेता हुनुपर्छ भन्ने छैन नि ! हामी पनि त केपी ओलीजत्तिकै बन्न सक्छौँ । शेरबहादुर देउवा र प्रचण्डजत्तिकै बन्न सक्छौँ । एउटै जात वा क्षेत्रको कुरा गरेर अब नेता बन्न सकिँदैन । यो देशमा सबै जातजातिको बसोबास छ । हामीले चाहेर पनि कसैलाई छुट्याउन सक्दनौँै । विभिन्न अवसरहरुमा सांसदहरुले बोलेको सुन्छु । कुनै खास समुदायलाई शासकको बिल्ला भिराइदिन्छन् । त्यो स्तरका जनप्रतिनिधिले त्यस्तो बोल्न सुहाउँछ ? हामी थारू भएकै कारणले कमैँया कहलिन बाध्य भयौँ भनेर कहिलै कमैया नभएकाहरू कुर्लन्छन् । थारू भएकै कारण हामी कमलरी बन्न बाध्य भयौँ भनेर भन्छन् केही सांसदहरू ।

थारु भएकै कारणले कमैया बनेको हो भने त विजय गच्छेदार किन कमैया भएनन् ? थारु भएकै कारण कमलरी बनेको हो भने रुकमणि र गंगा किन कमैया भएनन् त ? शान्ता चौधरी कमलरी थारु भएका कारण होइन नि त ! म त गरिव भएका कारण कमलरी बस्न बाध्य भएकी थिएँ । यो देशको सबभन्दा ठूलो समस्या वर्गीय समस्या हो । राजनीतिक दलका नेताहरूले गरिवीलाई भजाएर सधैँभरि राजनीति गर्ने चलन छोड्नु पर्यो । यो मुलकमा श्रमजीवीको नाममा कैयौं व्यक्ति सांसद र मन्त्री भए तर संसदमा गरिवी र वर्गीय समानताको कुरा उठेन । गरिवलाई हेर्ने दृष्टिकोण अहिले पनि फरक छ । राजनीतिक दलले जुन विचार बोकेर हिंडेका छन्, त्यही विषयलाई नै छाडेर राजनीति गरिरहेका छन् । एमालेसँग समेत मेरा केही प्रश्न छन् : मगर, थारु वा गुरुङ्गका संगठन किन ? संगठन बनाउने हो भने गिट्टी बोक्ने र हलो जोत्नेको संगठन बनाउनु पर्दैन ? जिफण्टमा को चाहिँ श्रमिक छ ?

वर्गीय मुद्दा प्रधान

हामी जनजातिहरू भाषाका कारण पछाडि परेका छौँ । अब पनि पछाडि परिराख्ने होइन । के कारणले पछाडी परेको हो भनेर खोज्न लाग्नुपर्यो । अब हेर्नुस्, हामीले सधैँभरि अरुले हामीलाई अन्याय गरे भन्याँै । थारुको कुनै कार्यक्रम छ तर अन्य जातिका मानिस कुर्सीमा छन् । थारु त बाहिर –बाहिर लुकेर बस्ने ! यसैकारण पनि हामी आफैँ पछाडि परेका हौँ । सबभन्दा पहिला राजनीतिक दलहरूले वर्गीय–मुद्दाको सम्बोधन गर्नुपर्छ । जसले रातदिन श्रम गर्छ, उ भने भोकै छ । काम नगर्नेहरूचाहिँ महँगा गाडीमा चढेका छन् । देशमा धेरै जातजाति र भाषाभाषी छन् । कार्यपालिका र व्यवस्थापिकामा उनीहरूलाई स्थापित गर्नुपर्छ । सधैँभरि जातीय मुद्दा बोकेर हिँड्यो भने सबैभन्दा ठूलो अर्थात् वर्गीय मुद्दा छुट्छ भन्ने चिन्ता हो ।

जातिपाति भन्दा माथि

मैले जनजातिको विरोध गरेको होइन तर प्रवृत्तिको विरोध गरेको । यो देश यसरी मिलेर बसेको छ । हामीले चाहेर पनि एक अर्कालाई अलग गराउन सक्दैनाँै । अब कस्तो भइदियो भने टीकापुरमा जुन घटना भयोे, कसरी त्यस्तो भयो ? किन त्यसो भयो, त्यो बेग्लै कुरा हो । जे भयो, त्यो अत्यन्त गलत भयो । घटनापछि थारूहरूलाई यति नकारात्क ढंगले हेरियो कि मेरो छोराले स्कुल समेत जान्नँ भन्न थाल्यो ।

किनभन्दा त्यहाँ ‘थारूहरूले मान्छे मारेको हो’ भनेर गुरूहरूहरुले र साथीहरूले घोचपेच गर्छन् भन्यो । ‘थारूले मान्छे मार्यो भने भनेर मलाई जिस्काउन थाले, त्यसैले म स्कुल जान्नँ’ भनेर मेरो छोराले भन्यो । यो दुर्भाग्यपूर्ण हो । त्यस कुराले मलाई ठूलो पीडा भयो । एउटा बालकको मस्तिष्कमा यस्तो छाप पर्दा भोलि के हुन्छ भन्ने चिन्ताले सतायो ।

सहकर्मी अभियन्ता सरस्वती सुब्बासँग सल्लाह गरेर हामीले अपराधीको जात हुँदैन भनेर एउटा अभियान नै सुरु गर्यौँ । बाहुन, क्षेत्री, लिम्बू र थारू जो पनि अपराधी हुनसक्छ । तर थारूलाई धेरै बदनाम गर्ने काम समेत भयो त्यही समयमा ।

यो घटनाले कतै हाम्रो देशमा पनि अन्य देशको जस्तो जातीय आन्दोलन हुन्छ कि भन्ने त्रासले हामीले अभियान शुरु गरेका हौं । हाम्रो देशमा त्यस्तो नहोस् भन्ने हामी चाहन्छौँ । तपाईँ–हामी जस्तो चेतनशील मानिसले सोच्नु पर्यो नि यस्ता कुरामा । हामी दुईजनाले हामी जनजाति हौं तर हामीले जोखिम लिनुपर्छ भनेर जातियताविरुद्धको अभियान शुरु गर्यौँ । टीकापुर घटनाबारे किन नबोल्ने भनेर मानिसहरूले सोध्न थाले अनि हामीले बोल्यौँ । त्यस वापत मलाई यति धेरै गाली गरेकि कुरा गरेर साध्य छैन ।

हामी सबैले वुझ्नुपर्छ कि सबभन्दा पहिला देश आउँछ । देश रहे पो हामी पनि रहन्छाँै । देश नरहे त कोही रहन्नाँै भनेर नै अभियान शुरु गरेका हौं । पार्टी र जातपनि देशपछि मात्र आउने कुरा हुन् । मानव भएर जन्मिएको नाताले पहिले देश र मानवता भनौँ । जातिपाति भन्दा माथि उठौँ भन्ने नारा नै बनायौँ ।

जातियताविरुद्ध चर्कंदै गरेको यो आन्दोलन मत्थर तुल्याउन हाम्रो केहि भूमिका रह्यो । थारूहरूले हामीलाई तपाईंहरूको आन्दोलनका कारण हाम्रो आन्दोलन धरापमा पर्यो भनेर भने तर हामी भने सद्भाव बढाउने अभियानमा लागिरह्यौँ । म जनजाति, चौधरीकी छोरी हु तर त्यसभन्दा ठूलो कुरो म नेपाली हुँ । जातिपातिबाट

अब हामी माथि उठ्नै पर्छ किनभने यसले नेपाल बन्न दिँदैन । (सकारात्मक अभियानकी अगुवा,पूर्वसभासद् शान्ता चौधरीसँग लोकान्तरकालागि सुशील पन्तले गरेको कुराकानीमा आधारित )

आर्काइभबाट

salt training

कमेन्ट गर्नुहोस्